भेरी नपा-१ पिपेकी ४८ वर्षीया लिला रानाको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देउरानी सगुनी रानालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।
गाईवस्तुलाई घाँस काट्न भन्दै कात्तिक २ गते बिहान सगुनीसँगै जङ्गल गएकी लिलाको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको भन्दै परिवारजनले मृतकको शवको कात्तिक ३ गते दाहसंस्कार गरेका थिए ।
दाहसंस्कार गरेपछि घरपरिवारले मृतकले लगाउने गरेको सुनको सिक्री र कानको टप नदेखेपछि अनुसन्धानका लागि प्रहरीलाई सूचना दिएका थिए ।
मृतकको परिवारबाट आएको सूचनाको अनुसन्धान गर्ने क्रममा कात्तिक ५ गते घटनास्थल पुगेर अनुसन्धान गर्दा आरोपित सगुनीले ढुङ्गा प्रहार गरी लिलाको हत्या गरेको खुलेपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका इन्स्पेक्टर केशरबहादुर कार्कीले बताए ।
परिवारजनले कात्तिक ५ गते नै जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा घटनाको लिखित उजुरी दिएको इन्स्पेक्टर कार्कीले जानकारी दिए ।
आरोपितलाई गिरफ्तार गरी हाल हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।