सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट सहइञ्चार्ज निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहलाई कात्तिक ६ गते बिहान ७ बजे नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धित नेकपाका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
सत्तारूढ नेकपाको बारेकोट गाउँपालिका समितिका पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा जाने क्रममा बारेकोट गाउँपालिका–८ लैखमस्थित राहपानी झरना नजिकैको भीरमा नेता आचार्य र सिंहलाई विप्लव नेतृत्वको नेकपाको बटालियन कमाण्डर बताउने अर्जुन नाम गरेका व्यक्तिको नेतृत्वमा आएको समूहले गाली गर्दै कुटपिट गरेको डम्बरबहादुर सिंहले बताए ।
बाटोमा हिँडिरहेको बेला अर्जुनको नेतृत्वमा आएका पाँचजना मध्येका एकजनाले लठ्ठीले कुटेर आफूहरूलाई घाइते बनाएको नेता आचार्यले जानकारी दिए ।
‘सुरूमा डम्बर बहादुर सिंह भन्ने को हो ? भन्दै सोधे अनि डम्बर जी ले म हुँ भन्ने बित्तिकै एक्कासी लठ्ठीले हान्न सुरू गरे ।’–नेता आचार्यले भने ।
आक्रमणबाट घाइते भएका दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र दिल्लीमा सामान्य उपचार गरेपछि सदरमुकाम फर्किएको पीडितले बताए ।
आचार्य पुर्व एमालेको भातृ सङ्गठन युवा सङ्घका पुर्व महासचिव हुन् भने नेता सिंह पुर्व एमाले जाजरकोटका पुर्व अध्यक्ष हुन् । घटना नियोजित भएको डम्बरबहादुर सिंहले बताए ।
सत्तारूढ नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटना निकै दुखद् भएको बताउँदै दोषीलाई तत्काल गिरफ्तार गरी कडा कारबाही गर्न माग गरे ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डिएसपी श्यामबहादुर खत्रीले घटनाबारे अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिए । घटनाबारे प्रतिबन्धित नेकपाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।