नेपाल विद्यार्थी सङ्घका पुर्व केन्द्रिय सदस्य रविन्द्र शमसेर शाहको हत्या गरेको कसुरमा कुसे गाउँपालिका–५, दम्दालाका ३२ वर्षीय बलबहादुर मल्ल पौरखलाई जिल्ला अदालत जाजरकोटले १० वर्षको जेल सजायको फैसला गरेको छ ।
न्यायाधीश देवकुमार गिरीको एकल इजलासले रविन्द्र शमशेरको हत्या गरेको कसुरमा बलबहादुर मल्ललाई असोज २९ गते १० वर्षको जेल सजायको फैसला गरेको हो ।
०७३ चैत १५ गते बेलुका करिब ६ः३० बजेको समयमा घुमफिरका लागि भेरी नगरपालिका–३ थाप्ले स्थित जुम्लीभिर भनिने साप्दुलाको भिरमा पहिले ढुङ्गा प्रहार गरेर पछि भिरबाटै खसालेर शाहको हत्या गरिएको थियो ।