INSEC Online

📅 २०८३ जेष्ठ २१

दोलखामा अझै १ हजार ३२ जना भूकम्पपिडितहरूले सरकारी अनुदान पाएनन्

भूकम्प गएको पाँच वर्ष पाँच महिना बितिसक्दा पनि दोलखा नौ स्थानीय तहका १ हजार ३२ जना भूकम्प पीडितको नाममा सम्बोधन हुन नसक्दा अझै सरकारी अनुदान पाउन सकेका छैनन् ।

कालिन्चोक गाउँपालिका–६ का दिपक भण्डारीले लाभग्राहि सूचीमा नाम समावेश गर्न पटकपटक गुनासो फारम भरेपनि हालसम्म लाभग्राहिमा नाम नआउँदा घर निर्माण गर्न नसकी जस्ताको कटेरोमा बसिरहेका छन् ।

त्यसैगरि भिमेश्वर नगरपालिका–६ का बिपीन सुवेदीले पनि सरकारी अनुदान ३ लाख रुपियाँको आश गरी गुनासो फर्म भरे । हालसम्म नाम नआउँदा उनले पनि जस्ताकै कटेरोमा पाँच वर्ष बिताए ।

त्यसैगरि भूकम्पपछिको पुनर्निर्माणका लागि १ हजार ३२ जनाको नाम अझै लाभग्राहि सूचीमा नभएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भिमेश्वर नगरपालिका भित्रका १ सय १३ जना पीडितले अन्तिम गुनासो भरेपनि सम्बोधन हुन सकेको छैन । त्यसैगरि जिरी नगरपालिकका ६३ जनाको पनि उस्तै पीडा छ ।

गौरीशङ्कर गाउँपालिकका ३८ जना, कालिन्चोक गाउँपालिकका १७ जना मेलुङ गाउँपालिकका १ सय ४४ जना भूकम्प पीडितको नाम सम्बोधन हुन सकेको छैन ।

बैतेश्वर गाउँपालिकका २ सय ८२ जना भूकम्प पीडितको नाम अझै सम्बोधन भएको छैन भने तामाकोसी गाउँपालिकका ५५ जनाको पनि पीडा उस्तै छ ।

सबैभन्दा बढी शैलुङ गाउँपालिकका ३ सय १७ र बिगु गाउँपालिकका सबैभन्दा कम पाँच जना भूकम्प पीडितको नाम सम्बोधन हुन बाँकी रहेको छ ।

अन्तिम गुनासो भरेर १ हजार ७९ जनाको सङ्ख्या पठाएकोमा केन्द्रमा रहेको पुनर्निर्माण प्राधिकरणले ४७ जनाको मात्र नाम सम्बोधन गरेर पठाएको जिल्ला आयोजना कार्यनयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार चरिकोटले जनाएको छ ।

जिल्ला आयोजना कार्यनयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार चरिकोट दोलखाका प्रमुख गणेश अर्यालले कतिपयको नाम लाभग्राहिमा नआउनुमा पुरानो पक्की घर भएको कतिपयको मर्मत गर्नुपर्ने भएकाले पनि नाम समावेश नभएको हुन सक्ने बताए ।

दोलखामा लाभग्राहिमा भएको सङ्ख्या ६८ हजार ५ सय ६९ जनामध्ये अझै ४ हजार २ सय ५० जना भूकम्प पीडितको घर सम्झौता हुन सकेको छैन ।

हालसम्म दोलखाका ६६ हजार ९ सय ६९ जना भूकम्प पीडितको पहिलो किस्ता भुक्तानी भएको छ । त्यस्तै ५९ हजार १ सय ७६ जनाको दोस्रो र ५४ हजार ५ सय १६ जना भूकम्प पीडितको तेस्रो किस्ता भुक्तानी भएको पुनर्निर्माण प्राधिकरण दोलखाले जनाएको छ ।

अन्य

भिडियो