राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २७ गते बिरामीका आफन्तहरूले चिकित्सकहरू बस्ने टेबुल, कुर्सी, रजिष्टर र नेमप्लेट मिल्काउँदै विरोध प्रदर्शन गरेका छन् ।
अस्पतालका चिकित्सकहरू दिउँसो १ बजेसम्म पनि नआएपछि लामबद्ध भई बसेका बिरामीका आफन्तहरूले असोज २७ गते अर्थोपेडिक्स विभागको टेबुल, कुर्सी र कागजातहरू बाहिर ल्याएर फ्याँक्दै नाराबाजी गरेका हुन् ।
डाक्टर नै नबस्ने भएपछि नेमप्लेट, टेबुल, कुर्सी किन चाहियो भन्दै प्रदर्शनकारीहरूले टेबुल, कुर्सी मिल्काएको जनाएका छन् ।
अन्य विभागमा चिकित्सकहरूले बिरामी जाँच गरे पनि अर्थोपेडिक्स विभागमा दिउँसो १ बजेसम्म कार्यरत डा. ज्ञानेन्द्र झा र डा. प्रानेश यादव ड्युटीमा नआएपछि बिहान १० बजेदेखि लामबद्ध भई बसेका बिरामी र आफन्तहरू आक्रोशित बनेका हुन् ।
अबेरसम्म डाक्टरहरू अनुपस्थित रहँदा टाढाबाट जचाउन आएका बिरामीहरू फर्किन समस्या हुने गरेको, प्रयोगशालाबाट दिशापिसाब, रगत, एक्सरे आदिको रिपोर्ट ल्याउँदा डाक्टरहरू अस्पताल छाडी क्लिनक हिँडिसक्ने गरेको र एक दिनमा हुने काम तीन दिन लाग्ने गरेको शम्भुनाथ नपा-१२ का चन्दनकुमार साहले गुनासो गरे ।
प्रदर्शनकारीहरूका अनुसार अर्थोपेडिक्सका दुई डाक्टर झा र यादव दैनिक बस्नु पर्नेमा एक दिन बिराई पालो-पालो आउने गरेकोमा असोज २७ गते दुवै जना अबेरसम्म अनुपस्थित थिए ।
उक्त समस्याबारे अस्पताल प्रशासनसमक्ष गुनासो राख्न गएका बिरामीका आफन्तहरूलाई प्रशासनले आफूले केही गर्न नसक्ने भन्दै लाचारी प्रकट गरेपछि बिरामीका आफन्त आक्रोशित बनेको राजविराज नपा-२ का नबिनकुमार झाले बताए ।
अस्पताल तनावग्रस्त बनेपछि प्रहरीले प्रदर्शनकारीमध्ये राजविराज नपा-१ पडरियाका २२ वर्षीय गुन्जन झालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश बस्नेतले बताए ।
झा राजविराज नपा-१ पडरियाका साथी बिमलकुमार चौधरीको भाँचिएको हातको उपचारका लागि अस्पताल गएका थिए ।
अस्पताल प्रशासनले डा. झा विदामा रहेको र अर्का डा. यादव आकस्मिक विभागमा विरामीको उपचारमा संलग्न रहेको जनाएको छ ।
अस्पतालको सरसामानमा क्षति पुगेको जनाउँदै अस्पताल प्रशासनले चिकित्सकहरूले असुरक्षा महसुस गरेको जनाएको छ ।