हाम्रा कुरा डटकमका संस्थापक प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासङ्घका सदस्य अजयबावु सिवाकोटीलाई समाचारकै विषयमा पटकपटक धम्की दिइएको घटनाप्रति महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘कुनै पनि समाचारप्रति गुनासो रहेमा वा चित्त नबुझेमा त्यसउपर उजुर गर्ने र न्यायिक प्रक्रियामार्फत त्यसलाई सम्बोधन गर्ने कानुनी मार्ग रहँदा रहदै त्यसलाई बेवास्ता गरी समाचारकै विषयमा पत्रकारलाई धम्क्याउनु र चुनौती दिनु गम्भीर आपत्तिको विषय हो ।’-महासङ्घले असोज १७ गते जारी विज्ञप्तिमा भनिएको छ ।
कृष्णबहादुर महरा प्रकरणको विषयमा समाचार ब्रेक गरेका सिवाकोटीको सुरक्षामा आँच आउनु भनेको खोजी पत्रकारिताको प्रवर्धनमा आघात पुर्याउने कार्यका रूपमा महासङ्घले लिएको जनाएको छ ।
विज्ञप्तिमा कसले र कहिले धम्की दिएको भनी उल्लेख गरिएको छैन । पत्रकार शिवाकोटीले इन्सेक अनलाइनसँग कुरा गर्दै सुरक्षा खतरा रहेको बताउँदै ठाउँठाउँमा बैठक गरेको सूचना आएको उल्लेख गरे ।
उनले भने-‘मलाई ठिक पार्न भन्दै होटलमा बैठक बसेको सूचना आएको छ । अहिले मलाई सुरक्षा खतरा छ ।’
त्यसैगरी रेडियो नेपालमा कार्यरत पत्रकार मुकुन्द भण्डारीलाई बिहीबार अपरिचित व्यक्तिहरूको समूहले नयाँ बानेश्वरमा दिएको धम्कीप्रति पनि महासङ्घले गम्भीर आपत्ति प्रकट गरेको छ ।
पत्रकारको सुरक्षामा गम्भीर भई अभिभावकीय भूमिका प्रदर्शन गर्न महासङ्घले राज्यसँग मागसमेत गरेको छ ।