सोरु गाउँपालिकाका प्रशासकीय अधिकृत ३५ वर्षीय परशुराम उपाध्यायलाई असोज १३ गते सदरमुकाम गमगढीबाट आफ्नो कार्यक्षेत्र जाँदै गर्दा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते भएका छन् ।
सुर्खेत जिल्ला चिङगाड गाउँपालिका–१ स्थायी घर भएका उपाध्याय गमगढीबाट गाउँपालिकाको कार्यालय रहेको सोरुकोट जानेक्रममा सोही गाउँपालिका–७ सिप गाउँमा बिहानको खान खाएर बाटोमा हिँड्न लाग्दा नौ जनाको समूहमा आएका प्रतिबन्धित नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घाइते भएको स्थानीयले बताए ।
उपाध्याय सहित गाउँपालिकाका अन्य ६ जना कर्मचारी बिहान ८ बजे सदरमुकाम गमगढीबाट आफ्नो कार्यक्षेत्र गएका थिए ।
सिप गाउँमा बिहानको खान खाएर सोरुकोट जान लाग्दा नौ जनाको समूहमा अनुहारमा मखुण्डो (मास्क) लगाएर लुकेर बसेका प्रतिबन्धित नेकपाका कार्यकर्ताले अधिकृत उपाध्यायको टाउको र शरीरको अन्य अङ्गमा लाठी प्रहार गर्दा उनी घाइते भएका थिए ।
उपाध्यायलाई बचाउने प्रयास गर्दा आफूलाई पनि मास्क लगाएका प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ताले कुटपिट गर्दा घाइते भएको सोही गाउँपालिक कृषि शाखाका प्राविधिक रतनलाल साहनीले बताए ।
मास्क लगाएको समूहले सुरूमै लाठी र दाउराले उपाध्यायलाई कुटपिट गरेपछि बचाउन खोज्दा आफूलाई समेत लाठी र दाउराले कुटपिट गरी खेतमा लडाएको गाउँपालिकाका कार्यालय सहयोगी रणभिम शाहीले बताए ।
कुटपिटबाट घाइते भएका उपाध्यायलाई बिहान ११ बजे घटना भएलगत्तै स्थानीय र गाउँपालिकाका कर्मचारी मिलेर दिउँसो २ बजे जिल्ला अस्पताल, मुगु पुर्याएका थिए ।
उपाध्यायको टाउकोका दुई ठाँउमा डेड इन्च गहिरो काटिएकोमा थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल, मुगुले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ घटनमा संलग्न व्यक्तिहरूको खोजीका लागि सोरुकोट, कालै र श्रीकोट प्रहरी चौकीका प्रहरीलाई तीन युनिट बनाई परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
घाइते भएका प्रशासकीय अधिकृत उपाध्यायको थप उपचारका लागि नेपालगञ्ज पठाउन गृह मन्त्रालयसँग समन्वय गरी हेलिकप्टर मगाउने तयारी गरिरहेको डिएसपी शाहले बताए ।
