INSEC Online

📅 २०८३ जेष्ठ २२

भतिजाको हत्या गरेको कसुरमा काकीलाई जन्मकैदको फैसला

डाकनेश्वरी गाउँपालिका–५ पातोका तीन वर्षीय रामअवतार खङ्ग मण्डलको हत्या गरेको आरोपमा २८ वर्षीया काकी उर्मिलादेवी खङ्ग मण्डललाई सप्तरी जिल्ला अदालतले असोज ९ गते जन्मकैद सजायको फैसला गरेको छ ।

न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई जन्मकैद सजायको फैसला गरेको तहसिलदार हरी पराजुलीले जानकारी दिए ।

जिल्ला अदालतको आदेशमा आरोपित ०७३ फागुन १२ गतेदेखि राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

आरोपितको एक छोरा र एक छोरी छन् । मृतकका एक भाई र एक बहिनी छन् । आरोपितका पाँच वर्षीय छोरा विकास खङ्ग मण्डलले कुटपिट गरी आमाले हत्या गरेर पत्ताको थुप्रोमा लुकाएको बयान दिएपछि शव फेला पारी आरोपितलाई ०७३ माघ २३ गते प्रहरीले गिरफ्तार गरेको थियो । शवको पोष्टमार्टम ०७३ माघ २४ गते गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा गरिएको थियो ।

आरोपितले ०७३ माघ २३ गते दिउँसो घाँटी थिचेर हत्या गरेको भन्दै मृतकका हजुरबुबा ५० वर्षीय रामदेव खङ्ग मण्डलले ०७३ माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

सहोदर दाजुभाइ रहेका मृतकका बुबा धर्मदेव खङ्ग मण्डल र आरोपितका पति अशोक खङ्ग मण्डल सिलाई कटाईको कामका लागि भारतको मुम्बईमा सँगै बस्दै आएका थिए ।

अन्य

भिडियो