१२ वर्षीया बालिकालाई वडा कार्यालयमा ड्युटीमा खटिएका प्रहरी चौकी त्रिपुराकोटका हवल्दार ३९ वर्षीय प्रहरी हवलदार दानबहादुर जिसीले असोज १ गते यौन दुर्व्यवहार गरेको भनिएको घटना मिलापत्रमा टुङ्गिएको छ ।
मदिरा सेवन गरेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले घटना लगत्तै प्रहरी चौकी त्रिपुराकोटमा सोही दिन मौखिक उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि असोज १ गते नै घटनास्थलबाट गिरफ्तार हवल्दार जिसीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, डोल्पामा अनुसन्धानका लागि राखेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २ गते जिल्ला अस्पताल, दुनैमा गरिएको थियो ।
असोज ९ गते ‘पीडित र आरोपित दुवै पक्षलाई राखेर छलफल गराउँदा घटना भएको नपाइएपछि’ मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय, डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए ।
घटनाको भोलीपल्ट असोज २ गते दिनभर स्थानीयले दोषीमाथी कारवाहीको माग गर्दै प्रहरी चौकी, त्रिपुराकोट घेराउ गर्दै ढुङ्गामुढा समेत गरेका गरेका थिए ।