रोल्पा नपा–६ कोटगाउँकी २१ वर्षीया बसन्ती परियारलाई पटक–पटक कुटपिट गरेको भन्दै २२ वर्षीय पति रामकुमार परियारविरूद्ध असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।
आरोपित परियार विगत एक वर्षदेखि घरमा नआउने, आएपनि घरबाट निस्कन दबाब दिने, आफू र चार वर्षीय छोराको पालन पोषणमा बेवास्ता गर्नुका साथै कुटपिट गरेको भन्दै कारबाहीका लागि उजुरी दिएको पीडित बसन्तीले बताइन् ।
डोजर चालक पेसा गर्ने पतिले बेवास्ता गर्दा पनि घरमै बसीरहेकी बसन्तीकी सासूले पनि घरबाट निस्किन भन्दै दैनिक गालीगलौज गर्न थालेपछि पीडित महिला भदौदेखि त्रिवेणी गाउँपालिका–१ करेटीस्थित माइती घरमा बस्दै आएकी छन् ।
यसअघि दुई पटक वडा कार्यालयबाट मिलापत्र गरिएको भएता पनि कुटपिट गर्न नछाडेपछि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले पीडितको उजुरीका आधारमा आरोपितलाई तत्काल गिरफ्तार गरी कानुनी कारबाही अघि बढाइने बताए ।