INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको कसुर ठहर गर्दै तीन महिना कैदको फैसला

महाकाली नगरपालिका-७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासू पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत, दार्चुलाले असोज ६ गते जनही तीन महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपित त्रयलाई दोषी ठहर गर्दै तीन/तीन महिना कैद र जनही २० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार किरन सिंहले बताए ।

पीडित महिलाका पति नविनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासू, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले ०७६ वैशाख २ गते जिल्ला अदालत, दार्चुलामा मुद्दा हालेकी थिइन् ।

कसुर ठहरिएका तीनै जनालाई गिरफ्तार गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तीन वर्षन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ ।

पीडितको उजुरीका आधारमा जिल्ला अदालत, दार्चुलाले कसुर ठहर गर्दै कैद फैसला गरेको भएपनि अदालतको फैसला चित्त नबुझेको हकमा ३५ दिन भित्र कसुरदारहरूले उच्च अदालतमा जान सक्ने कानुनी प्रावधान समेत रहेको श्रेस्तेदार सिंहले बताए ।

अन्य

भिडियो