वर्ष भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ देशैभर बाल दिवस मनाइएको छ ।
काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले अहिले बनेका कानुन बालमैत्री रहेको बताएका छन् ।
२०४७ सालमा नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकार महासन्धिलाई मनुमोदन गरे पनि विगतमा बनेका कानुनभन्दा निकै फराकिलो सोच र बालबालिकाका अधिकारलाई प्रत्याभुत गर्दै अगाडि बढेको उनले बताए ।
पोखरेलले बालबालिकामाथि हुने हिंसा अन्त्य भएको, विद्यालयमा विद्यार्थी भर्नादेखि उनीहरूको अधिकारमा समेत सरकारले विशेष ध्यान दिने विश्वास समेत दिए ।
नेपालका रहेका कुनैपनि बालबालिकाको अधिकार हनन् हुन नदिने र बेसाहारा रूपमा सडक कुनै पनि बालबालिका रहन नदिन सरकार लागि परेको समेत बताए ।
०७३ सालबाट सुरू गरिएको सडक बालबालिकाको उद्धार कार्यक्रममा हालसम्म १ हजार ११ जना रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
केन्द्रीय तथ्याङ्क विभागको नेपाल श्रमशक्ति सर्भेक्षण २०७५/७६ अनुसार आर्थिक लाभको लागि काममा संलग्न भएका बालबालिकाको सङ्ख्या करिब २ लाख ८६ हजार रहेको छ । तर, त्यसलाई बालश्रम हो वा होइन भनेर अध्ययन गर्न बाकीँ रहेको विभागले जनाएको छ ।
नेपाल संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि १९७९ को पक्ष राष्ट्र हो । नेपालले यसलाई २०४७ सालमा नै अनुमोदन गरिसकेको छ ।
कार्यक्रममा बोल्दै उनले भने–‘कतिपय समाजमा बालबालिकाको अधिकारमाथि हनन् नभएका होइनन् तर त्यसलाई निराकरण गर्न सरकारले अभिभावक तथा समाज बाटै बालबालिकाहरुको अधिकार संरक्षणमा ध्यान दिन भने जरुरी रहेको छ ।’
कार्यक्रममा महिला तथा बालबालिका तथा ज्येष्ठ मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले विगत र वर्तमानको शैक्षिक तथा बालमृत्युदर लगायत विद्यालय भर्ना दरमा बढेको स्तरका बारेमा बताए ।
घिमिरेले कार्यक्रममा बोल्दै बालबालिकाहरूको वृद्धि विकासमा समेत ध्यान दिन उनीहरूको गास, बास र कपास भन्ने युक्तिभन्दा माथि उठ्दै अन्य क्रियाकलापमा समेत ध्यान दिन आग्रह गरे ।
मन्त्रालयले पछिल्लो समय बढ्दै गएको बालगृह व्यवस्थापन तथा अनुगमनमा समेत विशेष चासो राखेर २०७५/०७६ मा १ सय ९२ ओटा बालगृहहरूको अनुगमन गरिएको बताए ।
त्यस्तै २०७६/७७ मा ३ सय अनुगमन गर्ने लक्ष्य राखिएको र हालसम्म ४१ ओटा अनुगमन गरिएको तथ्याङ्क प्रस्तुत गरे ।
यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइएको छ । कार्यक्रममा बालबालिकाले आआफ्नो प्रतिभा देखाएका थिए ।
राष्ट्रिय बाल दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामाथि हुने हिंसा सैह्य नहुने बताएका छन् । देशभित्र धेरै बालबालिका अभिभावकविहीन रहेकाले तिनको जिम्मेवारी राज्यले लिने बताएका छन् ।
उनले भने–‘बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ ।’
‘समृद्ध नेपाल, सुखी नेपाली’ दीर्घकालीन राष्ट्रिय अभिष्ट भएकाले यसलाई हासिल गर्न योग्य, सक्षम, सुशिक्षित, गुणवान नागरिक निर्माणतर्फ लाग्न उनले सबैमा आग्रह गरे ।
सबै बालकालिकाले खान पाउने अधिकार होइन पोषणयुक्त खानाको व्यवस्था आजको आवश्यकता रहेको बताए ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको विडम्बना भनेको निरक्षरता रहेकाले त्यसको विरूद्ध अभियान चलाउने कार्यमा सरकार लागिरहेको बताए ।
जसका लागि सरकारले आधारभूत तहको शिक्षा निःशुल्क गरेको बताउँदै उनले पढ्ने अवसरबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने कुरामा सरकार सचेत रहेको बताए ।
साथै सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्व समेतग्रहण गरी आगामी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको सन्देशमा उल्लेख गरिएको छ ।
संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको उल्लेख गरेको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मुलुकभर विविध कार्यक्रमका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा राजविराज नगरपालिकाले कुनै कार्यक्रम नगरेको भन्दै बालबालिकाले राजविराज नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भदौ २९ गते पाँच रुपियाँ सहयोग गरेका छन् ।
बाल दिवस मनाउने आश्वासन दिएको नगरपालिकाले कुनै कार्यक्रम नगरेपछि बाल दिवस मनाउन भेला भएका बालबालिकाहरूले बाल दिवस मनाउन नगरपालिकालाई व्यङ्ग्यत्माक शैलीमा पाँच रुपियाँ प्रदान गरेका हुन् ।
बालविकास, संरक्षण र सहभागितातर्फ नगरपालिकाको कुनै पहल नदेखिएको भन्दै आक्रोशित बालबालिकाले नगरपालिकासँग बालबालिकाका लागि बजेट न्यून भएकाले कार्यक्रम नगरेको हुन सक्ने भन्दै सहयोगस्वरुप पाँच रुपियाँ प्रदान गरिएको जिल्ला बाल सञ्जालका अध्यक्ष बरदान श्रेष्ठले बताए ।
जिल्ला बाल सञ्जाल, नगरस्तरीय बाल सञ्जाल र बाल अधिकारका लागि राष्ट्रिय अभियान नेपालको नेतृत्वमा निक्लिएको ¥यालीले चर्को नाराबाजी गर्दै नगरपालिका पुगेर मेयर शम्भुप्रसाद यादव र उपमेयर साधना झालाई ज्ञापनपत्रसहित पाँच रुपियाँ दिएका हुन् ।
बालबालिकाका लागि महत्वपूर्ण दिनका रुपमा रहेको बाल दिवसलाई महत्व नदिएकोमा आपत्ति जनाउँदै नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अनिशा ठाकुरले बालबालिकाको क्षेत्रमा दातृ संस्थामार्फत आउने रकमसमेत पारदर्शी नभएकोले हरहिसाब सार्वजनिक गर्न माग गरिन् ।
ज्ञापनपत्र बुझाउँदै बालबालिकाहरूले स्थानीय तहको निर्वाचनमा गरिएको वाचा पूरा गर्न र बालबालिकाका लागि पुँजिगत बजेटको कम्तिमा १५ प्रतिशत छुट्याउनु पर्ने प्रावधानअनुरुपको काम देखाउन मेयरलाई चुनौती दिए ।
एक सातादेखि नगरपालिकाको सामाजिक विकास शाखामा बाल दिवस मनाउन बाल सञ्जालले पटकपटक आग्रह गरेपनि बेवास्ता गरेको उनीहरूको गुनासो थियो ।
मेयर यादवले आफूलाई बाल दिवसबारे जानकारी नभएको र सामाजिक विकास अधिकृतले समेत ध्यानाकर्षण नगराएकाले कार्यक्रम हुन नसकेको बताए ।
बालबालिकाका लागि नगरपालिका र प्रत्येक वडा कार्यालयले बजेट छुट्याएको जानकारी दिँदै सामाजिक विकास अधिकृत एवम सूचना अधिकारी मनोजकुमार यादवले कार्य व्यस्तता र मौसम प्रतिकूल भएकाले बाल दिवस मनाउन नसकिएको बताए ।