चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ २४ गतेसम्ममा ३ हजार ९ सय ९५ जनाले डेङ्गु परीक्षण गराएकोमा १ हजार ३ सय १६ जनमा डेङ्गु पोजिटिभ देखिएको छ ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पूरानो मेडिकल कलेज तथा अन्य निजी अस्पतालमा ज्वरोका बिरामी भरिभराउ रहेका छन् ।
बिरामीको चाप एकाएक बढ्न गई बिरामीले शैया नपाउँदा केही त्यत्तिकै घर फर्कन बाध्य भएको पनि अस्पतालले जनाएको छ ।

शैया अभावमा भरतपुर अस्पतालमा एउटै शैयामा दुई जना बिरामी राखेर समेत उपचार गराउने गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले बताए ।
भदौ २३ गते एकै दिन २ हजार २ सय बिरामी ओपिडीमा जाँच गराउन आएकामध्ये १ हजार जना ज्वरोका बिरामी रहेकोमा २ सय जना डेङ्गु प्रभावित रहेको अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा भदौ २४ गते भएको छलफलमा निजी अस्पताल सञ्चालकहरूले अधिकतम २ हजार ६ सय रुपियाँसम्म परीक्षण शुल्क लिने गरेकोमा अब जम्मा १ हजार रुपियाँ लिने निर्णय भएको छ ।
चितवनमा डेङ्गुको सङ्क्रमणका कारण एक जना बृद्धको मृत्यु भइसकेको अस्पतालले जनाएको छ । बिरामीको चाप बढेकाले एउटै बेडमा दुई दुई जना राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
एउटै बेडमा महिला र पुरूषलाई समेत भर्ना राखिएको अनुगमनका क्रममा पाइएको अधिकारकर्मीहरूले बताएका छन् ।