बीरगंज महानगरपालिका–३ छपकैया निवासी १५ वर्षीया बालिका मुस्कान खातुनको अनुहार र शरीरमा तेजाव छर्केर घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका १६ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपित बालकले बीरगंजको गणेशमानचोकमा भदौ २० गते एसिड प्रहार गरेका हुन् । एकतर्फी माया गर्ने बालकले ति बालिकामाथि एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहारका कारण बालिकाको अनुहार, छाती, हातगोडालगायतका शरीरका विभिन्न अङ्ग जलेको छ ।
घाइते बालिकाको उपचार नारायणी अस्पतालमा हुन नसकेकोले काठमाडौँको किर्तिपुरमा रहेको अस्पतामा लगिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बिहान ६ बजे विद्यालय जान लागेकी बालिकामाथि आरोपित बालकले एसिड प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।
उनले बालिकामाथि एसिड प्रहार गर्ने कार्यमा सहयोग गरेको आरोपमा बीरगंज मनपा–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । पीडित बालिका बीरगंजको त्रिभुवन हनुमान माध्यमिक विद्यालायको कक्षा ९ मा अध्ययनरत छिन् ।