जिल्ला सदरमुकाम मार्तडीमा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा भदौ २० गते एकाकएक रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ ।
पौरखी विकास सहकारी संस्थामार्फत सञ्चालन हुँदै आएको उक्त रेडियो सञ्चालन भइरहेकै बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सह–सचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेको रेडियोमा कार्यरत राजेन्द्र रोकायाले बताए ।
भदौ २० गते दिउँसो ४ बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सह सचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताए ।
उनले भने–‘समितिका अध्यक्ष र सहसचिवले तिमीहरू काम गर्न सक्दैनौ । आजबाट रेडियोमा अनिश्चित कालसम्मका लागि तालाबन्दी गर्छौँ भन्दै रेडियोमा ताला लगाए ।’
सहकारीका करिव ५ सय जना शेयर सदस्यहरूको रकमले सञ्चालनमा ल्याएको उक्त रेडियो एकाएक बन्द गरिएको हो ।
सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रूपमा रेडियो बन्द गर्दा नागरिकमा नकारात्मक प्रभाव परेको कर्मचारीहरूले बताएका छन् ।
रेडियोको लामो समयपछिको नयाँ कार्य समिति चयन भएको तीन महिना नहुँदै समितिले कर्मचारीलाई जानकारी बिना रेडियो बन्द गरेका हुन् ।
सहकारी तथा रेडियो सञ्चालक समितिका अध्यक्ष रामचन्द्र यादवले भने कर्मचारीले रेडियो नियमति रूपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताए ।
भदौ १९ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार आफू र सहसचिव गएर रेडियोमा ताला लगाएको अध्यक्ष यादवले बताए ।
कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियन बाजुराले आपत्ति जनाएको छ ।
रेडियोमा नियमित रूपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानुनी भएको प्रेस युनिय बाजुराका सचिव प्रशान्तराज बताए ।
उनले कर्मचारीलाई पुनःस्थापना गर्नका लागि युनियनले सञ्चालक समितिसँग आग्रह गरेको जानकारी दिए ।
कर्मचारीलाई पुनःस्थापना नगरिए थप आन्दोलनका चरण सुरु गर्ने युनियनले चेतावनी दिएको सचिव जोशीको भनाई रहेको छ ।
पौरखी विकास सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित रेडियो पौरखीमा कार्यरत कर्मचारीहरूले रेडियो एकाएक बन्द गरेर तलब विना काम गर्दागर्दै पनि सञ्चालक समितिलले हटाउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।
विगत सात वर्षदेखि काम गर्दै आएका प्राविधिक प्रमुख मानबहादुर ऐडीले दुई वर्षदेखि तलब बिना काम गर्दा पनि काम नगरेको आरोपमा रेडियो बन्द गर्दा दुःख लागेको बताए ।
रेडियोमा कार्यरत पाँच जना कर्मचारीमध्ये चार जना कर्मचारी डेढ वर्षदेखि तलब रकम नबुझेरै काम गरिरहेका छन् ।
उनीहरू भन्छन्–‘तलब नलिएर काम गर्दा पनि विभिन्न बाहनामा रेडियो बन्द गर्नु सञ्चालन समितिको मनपरीतन्त्र हो ।’