गैडहवा गाउँपालिका–६ गुलरियाकी १५ वर्षिया कान्ति लोनियालाई हत्या गरी फरार सूचीमा रहेका ६३ वर्षीय बाबु पूर्णवासी लोनियालाई प्रहरीले घटना भएको १९ वर्षपछि भदौ ११ गते साँझ सिद्धार्थनगर नपा–५ मालपोत अगाडिबाट गिरफ्तार गरेको छ ।
कान्तिलाई आरोपितले सधैँजसो कुटपिट गर्दे आइरहेको र ०५४ साउन २३ गते छोरीलाई मारेर घरदेखि एक किलोमिटर पर खेतमा खाल्डो खनी गाडेर छोरी हराएको भन्दै गाउलेहरूलाई भन्दै हिँडेको आरोप छ ।
०५४ भदौ १३ गते गाउँका महिलाहरू घाँस काटन जाँदै गर्दा खेतमा मान्छेको कपालका रौँहरू, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरू देखेपछि सनाखत गर्दा उक्त शव कान्ति लोनियाको भएको पुष्टि भएको थियो ।
बाबुलाई घटनाका विषयमा गाउँलेहरूले बुझ्न बोलाउँदा भागेको र घटनाका विषयमा प्रहरीलाई खबर गरी घटनाको मुचुल्का उठाई कङ्काल निकाली गाउँलेहरूले शव कान्ति लोनियाकै भएको खनाखत गरेपछि घटनाका विषयमा प्रहरीले मसिनो रूपमा अनुसन्धान थालेको थियो ।
अनुसन्धान गर्नेक्रममा मृतकका बाबु पूर्णवासी लोनियाले छोरी कान्तिलाई सधैँजसो कुटपिट गर्ने गरेको हुँदा छोरीको हत्या बाबुले नै गरेको भनी कर्तव्य ज्यानसम्बन्धी उजुरी दर्ता गरी अनुसन्धान गरेको थियो ।
अनुसन्धान पछि मिसिल सरकारी वकिलको कार्यालय रुपन्देहीमा पेश गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत रुपन्देहीमा उजुरी दर्ता गरी मुल्तबीमा रहेको थियो ।
आरोपित प्रहरीको फरार सूचीमा भएकाले भदौ ११ गते साँझ गिरफ्तार गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।