केन्द्रीय अस्पताल भरतपुर अस्पतालमा भाइरलको बिरामीको सङ्ख्या उच्च रहेको अस्पतालले जनाएको छ ।
अस्पताका मेडिकल सुपरिटेन्डेण्ट डा. श्रीराम तिवारीका अनुसार अस्पतालका सबै बेडहरू बिरामीले भरिएका छन् ।
भरतपुर अस्पतालको आकस्मिक कक्षका सबै बेडहरूमा दुई जना बिरामी राखिएको छ । अन्य वार्डहरूमा पनि त्यस्तै अवस्था छ ।
भाइरल सङ्क्रमित बिरामीको एकै ठाउँमा उपचार हुँदा यसबाट हुने थप स्वास्थ्य असरबारे अस्पताल मौन छ ।
साउन महिना लागेदेखि नै अस्पतालमा बिरामीको चाप बढेको उनले बताए । बेडको अभावमा एउटा बेडमा दुई जना बिरामी राखेर उपचार भइरहेको छ ।
‘केही दिन त हामीले एउटै वेडमा ३ जना सम्म बिरामी पनि राख्यौँ ।’–डा. तिवारीले भने–‘बेड सङ्ख्या र कर्मचारी अभावले गर्दा समस्या भइरहेको छ ।’
बिरामीको चाप बढेको कारणले मानसिक रोगका बिरामीमात्र रहने बेडमा पनि भाइरल ज्वरोका बिरामी राख्नु आफूहरूको बाध्यता रहेको मेसु डा. तिवारीको भनाई छ ।
भाइरल बिरामीलाई अन्य बिरामी वा स्वस्थ मान्छे भन्दा टाढै राखेर उपचार गराउनु पर्नेमा अस्पतालले सँगै राखेर उपचार गराउँदा समस्या भएको छ ।
भाइरलले सताइरहेको अवस्थामा निजी अस्पतालहरूले बिरामीको स्वास्थ्यलाई मध्यनगर गरी झुलको व्यवस्था गरेका छन् । तर, सरकारी अस्पतालमा भने यस्तो सजगता भएको पाइँदैन ।



