विनासकारी भूकम्पले २०७२ सालमा क्षति भएको विद्यालय पुनःनिर्माण नहुँदा लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँको त्रीपुरेश्वर माविका विद्यार्थीहरू चार वषदेखि बाँसको छाप्रामा पढ्दै आएका छन् ।
भूकम्पले विद्यालय भत्किएको चार वर्ष बित्दा पनि सो विद्यालयको पुनर्निर्माणको काम सुरू हुन सकेको छैन ।
१२ कक्षासम्म पठनपाठन हुने सो विद्यालयमा ५ सयभन्दा बढी विद्यार्थीहरू पठनपाठन गरिरहेका छन् ।
जिल्लामै भूकम्पले सबैभन्दा बढी क्षति भएको सो विद्यालय निर्माण गर्ने भन्दै तीन वर्ष अघिनै भारतीय दुतावासले जिम्मा लिएको थियो ।
तर, विद्यालय निर्माणको काम हालसम्म सुरू नभएको विद्यालयका प्रधानाध्यापक विनोद पौडेलले जानकारी दिए ।
भवन नबन्दा तल्लो कक्षाका विद्यार्थीहरूको पढाइ भूकम्पले क्षति भएका पुराना भवनमा नै सञ्चालन गर्नुपरेको शिक्षक जनार्दन घिमिरेले बताए । चिसो कोठामा राखेर पढाउँदा विद्यार्थीहरू बारम्बार बिरामी हुने उनले बताए ।
विद्यालयमा ७, ८, ९ र १० कक्षालाई अहिले पनि भूकम्पपछि निर्माण भएका बाँसका टहरामा राखेर पढाउने गरेको विद्यालयका प्रधानाध्यापक पौडेलले बताए ।
पानी पर्दा जस्ता बजेर विद्यार्थीले नसुन्ने, जाडोमा चिसोले बस्न कठिन हुने तथा घाम लागेको बेलामा गर्मीले बस्नै नसकिने अवस्थाले गर्दा विद्यार्थीहरूको पढाइ प्रभावित भएको उनले बताए ।
भारतीय दुतावसाले निर्माणको जिम्मा लिएको कुनै पनि विद्यालयको निर्माणको काम सुरू नभएको पुनर्निर्माण प्राधिकरणको कार्यक्रम कार्यान्वयन एकाई शिक्षा रामेछापका प्रमुख निर्मलकुमार घिमिरेले जानकारी दिए ।
ती भवनको डिजाइनको काम सकिएर टेण्डर प्रक्रियामा गएकोले यस वर्षबाट भने काम सुरू हुने उनले बताए ।

