INSEC Online

📅 २०८३ जेष्ठ २१

समाजिक सुरक्षा भत्ता बुझ्न सास्ती

दशरथचन्द नगरपालिकास्थित अधिकांश वडाका सामाजिक सुरक्षा पाउने सेवाग्रहीहरूले भत्ता बुझ्न सास्ती भएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता बापतको रकम बुझ्न २ हजारदेखि ३ हजारसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–७ का कमला बडुले गुनासो गरे ।

भत्ता बुझ्न आउँदा बृद्धहरूलाई घोडामा ल्याउनुपर्ने बाध्यता रहेको दशरथचन्द नगरपालिका–११ बर्तोलीका करन चन्दले बताए ।

‘बुढा आमा–बुबाहरू हिड्न सक्दैनन् । उनीहरूका लागि घोडा भाडामा लिनुपर्छ । भनेको बेलामा घोडा पनि पाइँदैन । सदरमुकाम जानुपर्ने झन्झटले निकै सास्ती भएको छ ।’–उनले भने ।

नगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ को अन्तिम चौमासिकको समाजिक सुरक्षा भत्ता ०७६ असारमा कृषि विकास बैङ्क शाखा शाहिलेक, बैतडीको खातामा जम्मा गरे पनि बैङ्कले एकैचोटी वितरण गर्ने समस्याका कारण भत्ता बुझ्न आएका सेवाग्राहीले पनि लामो लाइन बस्नुपर्ने बाध्यता छ । ०७५/०७६ को अन्तिम चौमासिकको भत्ता ०७६ भदौ २ गतेदेखि वितरण गरिरहेको छ ।

वडाबाट इच्छाएको व्यक्तिलाई सिफारिस गरे पनि भत्ता नदिँदा आफूहरूले नै आउनुपर्ने समस्या रहेको सेवा ग्राहीहरूको गुनासो छ ।

सेवाग्राहीको गुनासोपछि चालु आर्थिक वर्ष ०७६/०७७ को पहिलो चौमासिकदेखि समाजिक सुरक्षा भत्ता घर–घरमानै पुग्ने व्यवस्था गरिने दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताए ।

अन्य

भिडियो