सैनामैना नगरपालिका–८ रामापुर कलौनी शान्तिटोलमा रहेको प्रदेश ५ प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा अज्ञात पक्षले साउन ३० गते आगजनी गरेको प्रहरीले जनाएको छ ।
वियरको बोतलमा पेट्रोल र मटितेल हालेर आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ढकाल चढ्ने लु १ झ ४५६ नम्बरको गाडीको पछाडिको भाग र छतको भित्री भागमा पूर्ण रूपमा क्षति पुगेको छ ।
ढकाल बिरामी भएर उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । बिरामी भएर भर्ना भएको बेला घरमा आगजनी भएपछि ढकाल परिवार त्रसित बनेको स्थानीय मनबहादुर क्षेत्रीले बताए ।
वियरको बोतलमा पेट्रोल र मटितेल भरेर आगो लगाइ ढकाल सुत्ने कोठा र गाडीलाई लक्षित गरेर फालिएको भए पनि आगजनीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका एसपी हृदय थापाले बताए ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन जनाको समूहले आगजनी गरेका थिए । आगो लागेको वियरको बोतल विष्फोट भएपछिको आवज सुनेर छिमेकीहरूले आगो निभाउँदै गर्दा जिल्ला प्रहरी कार्यालयबाट एसपी हृदय थापा सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाका विषयमा अहिलेसम्म कसैले जिम्मा नलिएको भए पनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले गरेको हुन सक्ने एसपी थापाले बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले घटना गम्भीर प्रकृतिको भएकाले त्यसको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए । आगजनीबाट क्षति भएको प्रमुख सचेतकको गाडी प्रदेश सभा सचिवालय बुटवलमा ल्याइएको छ ।
यसैबिच प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले घटनाको अनुसन्धान गरी संलग्नलाई कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । पोखरेलले ढकाल परिवारका सदस्यहरुलाई भेटेर आवश्यक परे सुरक्षाकर्मी परिचालन गर्ने आश्वासन दिँदै विचलित नहुन आग्रह गरेका छन् ।
घटनाको खबरपछि मुख्यमन्त्री पोखरेल, सभामुख पूर्णबहादुर घर्ती मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, संसदीय समितिका सभापति दधिराम न्यौपाने, नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्री, सांसद कमला विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेल घटनास्थल पुगेका थिए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले अपराधिक गतिविधि सह्य नहुने भन्दै घटनामा संलग्न जो कोही भए पनि कानुनको दायराले ल्याउने बताए ।