INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

 

साउन ३० गते दिउँसो वडा कार्यालयमा काम गरेर बसिरहेको अवस्थामा थापालाई मोसो दलिएको खबर आएपछि घटनामा संलग्नहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।

 

प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले वडा अध्यक्ष थापालाई कार्यकक्षमै पुगेर दुर्व्यवहार गरी भागेको डिएसपी मरासिनीको भनाई छ ।

 

थापालाई मोसो दल्नुका साथै आठ ओटा बुँदा लेखिएको यो–यो कारणले गर्दा जनकारवाही स्वरूप थापालाई मोसो दलिएको भनेर उल्लेखित पर्चा समेत घटनास्थलमा छोडेको पाइएको प्रहरीले जनाएको छ ।

 

वडाध्यक्ष थापामाथि वडाको बजेट बाँडफाँडमा मनोमानी गरेको, कार्यालयमा आर्थिक अनियमितता गरेको र भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

 

पटकपटक सुझाव दिँदा पनि नमानेपछि चेतावनी स्वरूप कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइएको प्रतिबन्धित नेकपाले पर्चामार्फत् जनाएको छ ।

अन्य

भिडियो