INSEC Online

📅 २०८३ जेष्ठ २२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

डाकनेश्वरी नपा-१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २९ वर्षीय पति अरबिन्दकुमार यादवलाई साउन २९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले लगाएको अभद्र व्यवहारको मुद्दामा रिहा भएलगत्तै उनीविरूद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरले कर्तव्य ज्यानको उजुरी दर्ता गरी सप्तरी जिल्ला अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।

राजविराज नपा-१० हरीहरपुरका मृतकका भाइ सिद्धान्तराज यादवले दिएको उजुरी दर्ता गरी आरोपित यादवलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले बताए ।

प्रहरीका अनुसार हत्या आरोपमा आरोपितका ५८ वर्षीय बुवा सुदीलाल यादव, ५५ वर्षीया आमा फुलोदेवी यादव, ५० वर्षीय दाजु (ठूलोबुवाको छोरा) चन्द्रनारायण यादव र साथीहरू महादेवा गाउँपालिका-५ बथनाहाका ३५ वर्षीय सञ्जिव यादव र छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरकी २८ वर्षीया बिनिता यादवविरूद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको छ ।

कञ्चनको शव डाकनेश्वरी नपा-१ स्थित आफ्नै घरको भान्सा कोठामा साउन १९ गते पासोमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २० गते गरिएको छ ।

कञ्चनलाई कुटपिट गर्दै हत्या गरेको र त्यसपछि आत्महत्या देखाउन झुण्ड्याएको माइती पक्षको आरोप छ ।

गिरफ्तारीमा परेका आरोपितले सबैजना सुतिरहेका बेला कञ्चनले पासोमा झुण्डिएर आत्महत्या गरेको आरोप लगाउँदै आएका छन् ।

अनुसन्धान र पोष्टमार्टम प्रतिवेदनले आत्महत्या नै देखाएपछि राजनीतिक दबाबमा जिल्ला प्रहरी कार्यालयले साउन २० गते गिरफ्तार गरी काल्पनिक घटना खडा गरी अभद्र व्यवहारमा मुद्दा चलाएको र सोबाट छुटकारा मिलेपछि साउन २९ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरी अदालत परिसरबाटै गिरफ्तार गरी कल्याणपुर लगेको जनाएको छ ।

अन्य

भिडियो