INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारको घटना मिलाउन लागेको आरोपमा सात जना गिरफ्तार

अपाङ्गता भएकी १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउन लागि परेको आरोपमा प्रहरीले साउन २३ गते रङ्गेली नगरपालिका–९ का सात जनालाई गिरफ्तार गरेको छ ।

 

गत असार २० गते सामूहिक बलात्कारमा परेकी बालिकाको संरक्षकलाई आरोपित पक्षबाट १ लाख ५० हजार रुपियाँ दिएर मिलाउन लेखिएको मिलापत्र कागजमा रोहबरमा बसेका रङ्गेली नगरपालिका–९ का ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशीलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।

 

उनीहरू विरूद्ध साउन २४ गते बलात्कार मुद्दामै अनुसन्धान अघि बढाउन अदालतबाट चार दिनको म्याद थप गरिएको प्रहरीले जनायो ।

 

घटना मिलापत्र गराउने तीन जना अझै फरार छन् । सोही ठाउँका ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको इन्स्पेक्टर दाहालले बताए ।

 

गत असार २० गते राति भएको बलात्कारको घटनालाई मिलापत्र गराएर लेनदेनमा अपराध टुङ्ग्याउन खोजेको आरोप लागेका १० जनामध्ये सात जना गिरफ्तार भएका हुन् ।

 

प्रहरीले सामूहिक बलात्कार घटनामा संलग्न रहेको आरोपमा रङ्गेली नगरपालिका–९ का २५ वर्षीय रोमन मगर र सोही ठाउँका २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते गिरफ्तार गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका २३ वर्षीय सुनील चौधरी फरार छन् ।

 

रकम दिनु अगावै प्रहरीले घटनामा संलग्नलाई गिरफ्तार गरेपछि रकम लेनदेन हुन पाएन ।

अन्य

भिडियो