मन्थली नगरपालिकाका ६ ओटा वडा कार्यालयहरूले अहिले पनि नगरपालिकाको केन्द्र रहेको सहरमा नै बसेर कामकाज गर्दै आएका छन् ।
वडा कार्यालयहरू केन्द्रबाटै सञ्चालन हुँदा सर्वसाधारणलाई वडाको कागज लिन केन्द्रसम्म धाउनुपर्ने बाध्यता भएको छ । मन्थली नगरपालिकाको केन्द्र जिल्लाकै सदरमुकाम पनि हो ।
गाउँमा वडा अध्यक्ष र कर्मचारी नबस्दा सिफारिस तथा पञ्जिकरणका कामका लागि समेत केन्द्रसम्म नै धाउनु पर्ने बाध्यता रहेको स्थानीय सेवाग्राहीको गुनासो रहेको छ ।
गाउँमा वडा कार्यालय स्थापना गर्न मन्थली नगरपालिकाले दुई वर्ष अघि नै सबै वडालाई बजेट विनियोजन गरेपछि गाउँमा वडा कार्यालय खोले पनि वडा अध्यक्षले जिल्ला सदरमुकामसमेत रहेको नगरपालिकाको केन्द्र मन्थलीमा सम्पर्क कार्यालय खोली काम गरिरहेको पाइएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
नगर कार्यपालिका बैठकले सबै वडाध्यक्षलाई वडामा नै बसेर सेवा दिन निर्देश गरको प्रमुख बस्नेतले बताए ।
नगरपालिकाले दिएको निर्देशन अटेर गरी सदरमुकाममा बस्दै आएका वडा कार्यालयले भदौ मसान्तसम्म गाउँबाट सेवा सञ्चालन नगरे वडा कार्यालयको अनुदान कटौती गर्ने निर्णय कार्यपालिकाको बैठकले गरेको नगर प्रमुख बस्नेतले बताए ।
१४ ओटा वडा कार्यालय रहेको मन्थली नगरपालिकाका वडा नं २, ३, ४, ५, १० र ११ गरी ६ ओटा वडा कार्यालयले सदरमुकाम मन्थलीबाट सेवा सञ्चालन गर्दै आएका छन् ।