साउन २१ गते बसेको प्रदेश २ को प्रदेश सभा बैठकबाट लोकसेवा विधेयक पारित भएको छ । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।
बैठकमा टेबल भएको झण्डै अढाई महिनापछि प्रदेश लोकसेवा विधेयक पारित भएको हो । यो विधेयक गत जेठ १२ गते प्रदेश सभा बैठकमा टेबल भएको थियो भने साउन २१ गते बसेको प्रदेशसभाको बैठकमा यो विधेयक पारित भएको घोषणा गरिएको छ ।
यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।
प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्वान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।
सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साह सहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको बताए ।
समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले पटकपटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।
साउन २१ गते प्रदेशसभा बैठकमा बोल्दै उनले साउनमा मात्रै पाँच पटक बैठक बसेको र आज मङ्गलबार बिहान बसेको समिति बैठकले पारित गर्ने निर्णय गरेको बताए ।
यसैबीच साउन २० गते सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले पेश गर्नु भएको प्रदेश प्राविधिक शिक्षा परिषद्को स्थापना र सञ्चालन गर्न बनेको विधेयक-०७६ माथि पनि साउन २१ गते सैद्वान्तिक छलफल भएको छ ।
छलफलमा भाग लिँदै नेकपाका सांसद गोबिन्द न्यौपाने र कांग्रेसका सांसद शिवचन्द्र चौधरीले यो विधेयकलाई धेरै ठाउँमा सच्चयाउनु जरुरी रहेको बताए ।
मन्त्री साहले सीप नसिकी हजारौँ युवा विदेश गइरहेकाले प्राविधिक शिक्षा स्थापना गरेर उनीहरूलाई विभिन्न किसिमको तालिम दिन र आफैँ रोजगारी गर्ने किसिमको प्राविधिक अध्ययनका निम्ति यो विधेयक अपरिहार्य भएको बताए ।