धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच साउन २१ गते भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीले गरेको लाठी चार्जबाट उपमेयर सहित पाँच जना घाइते भएका छन् ।
कार्यालयका सम्बन्धमा भएको विवादका क्रममा प्रहरीको लाठी चार्जबाट उनीहरू घाइते भएका हुन् ।
साउन २१ गते दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरूले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुबै पक्षबीच झडप भएको थियो ।
झडपको क्रममा उपमेयर झासहित वडा नं २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत घाइते भएका छन् ।
घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको उपचार स्थानीय स्तरमा भई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।
स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लैजान प्रहरीसँगै मेयर मण्डल करिब ६० जनाको समूहका साथ आएका थिए ।
घरेलु हातहतियार सहित उनीहरू दुई ओटा ट्याक्टरमा आएका स्थानीयको आरोप छ । उपमेयर पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुबै पक्षबीच झडप भएको हो ।
सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्–‘मेयर मण्डललाई कार्यालयसम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटकपटक आग्रह गर्दै आएका हौँ । तर, उनले मानेनन् । आज बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौँ प्रहरी र अन्यको सहयोगमा मेरो कार्यालय लुट्न आए ।’
स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नु परेको बेल्ही प्रहरी चौकीका इञ्चार्ज रामकुमार साहले बताए । सुरुदेखि नै मेयर–उपमेयरबीच विवाद हुँदै आएको थियो । उनीहरूले हाल आ–आफ्नै वडामा कार्यालय खडा गरी काम गर्दै आएका छन् ।







