खत्याड गाउँपालिका-२ जामागाउँको बजार क्षेत्रमा साउन १९ गते राति अज्ञात पक्षले आगो लगाउँदा तीनओटा घरमा पुर्ण रूपमा क्षति पुगेको छ ।
मध्यरातमा भएको आगजनीमा परी खत्याड गाउँपालिका-३ जामागाउँको बजार क्षेत्रमा रहेको सोही वडाका वडाअध्यक्ष ३७ वर्षीय लालबहादुर मल्लको घरसँगै जोडिएका अन्य दुई स्थानीयका घरमा क्षति पुगेको हो ।

वडाअध्यक्ष मल्लको तीन तले पक्की घरमा आफन्त सुतिरहेको समयमा मुल ढोका बन्द गरेर झ्याल र ढोकामा पेट्रोल तथा मट्टितेल छर्केर अज्ञात पक्षले आगो लगाएको वडा अध्यक्ष मल्लले जानकारी दिए ।
मल्लका अनुसार उनको घरबाट सल्केको आगोले सँगै जोडिएका सोही ३० वर्षीय पदमबहादुर बुढा र ३८ वर्षीय टक्कबहादुर मल्लको काठले बनेका दुई तले घर ध्वस्त भएका छन् ।
मल्लको घरको दुई तलामा होटल रहेको थियो भने तेस्रो तल्लामा सोही वडाको वडा कार्यालय रहेको थियो ।
पदमबहादुर बुढाले पुस्तक पसल सञ्चालन गरेका थिए भने टक्कबहादुर मल्लले मोबाइल पसल सञ्चालन गरेका थिए ।
आगजनीबाट आफ्नो घरको २ करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको र वडा कार्यालयका महत्वपुर्ण सामग्री जलेर नष्ट हुनुका साथै १० लाख रुपियाँ बराबरको क्षति भएको वडाअध्यक्ष मल्लले बताए ।
यस्तै आगजनीबाट टक्कबहादुर मल्लको २५ लाख रुपियाँ बराबरको र पदमबहादुर बुढाको ७ लाख रुपियाँ बराबरको क्षति भएको पीडितहरूले जनाएका छन् ।
घरमा सुतिरहेका मल्लका ३२ वर्षीय साला शेरबहादुर पुन आगजनी भएको समयमा ज्यान जोगाउन हाम फाल्ने क्रममा घाइते भएका छन् ।
आगजनी भएको थाहा पाएपछि नियन्त्रणका लागि नजिकै रहेको श्रीकोट प्रहरी चौकीलाई खबर गरेपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम गमगढीबाट ६ घण्टा टाढा पर्ने भएकाले घटनामा संलग्नको बारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, मुगुका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् ।