१५ र १७ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मदाने गाउँपालिका-७ का १९ वर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका-६ का २५ वर्षीय सुरज पन्थी र रेसुङ्गा नगरपालिका-४ का ३२ वर्षीय ओमबहादुर खत्रीलाई साउन १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाद्वयलाई आरोपितहरूले साउन १७ गते सामूहिक बलात्कार गरेको भनी उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मीन घलेले बताए ।
पीडित बालिकाहरू साउन १६ गतेबाट परिवारको सम्पर्कमा नभएपछि आफन्तले छोरीहरूको खोजतलासको लागि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा पीडित बालिकाहरूलाई साउन १७ गते तम्घासमा फेला पारेको एसपी दिपक बस्नेतले बताए । सोधपुछ गर्दै जाँदा घटनाको थप रहस्य बाहिर आएको एसपी बस्नेतले बताए ।
बालिकाद्वयले आफूहरूलाई दुई दिनसम्म सँगै राखेर बलात्कार गरेको र यसअघि पनि यौन शोषण गर्ने गरेको प्रहरी समक्ष बताएका छन् । घटनाका बारेमा पीडित पक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
एसपी बस्नेतले बालिकाहरू २० वर्षभन्दा कम उमेरका भएकाले आपसी समझदारीमा यौन सम्बन्ध भएपनि बलात्कार नै ठहर हुने भएकाले कानुन अनुसार कारवाही हुने बताए । बालिकाद्वयको स्वास्थ्य परीक्षण साउन १८ गते गुल्मी अस्पतालमा गरिएको प्रहरीले जनायो ।