शुद्धोधन गाउँपालिका–५ देवपुरका समाजवादी पार्टीका नेता ४५ वर्षीय रामनयन यादवमाथि साउन १६ गते अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
शुद्धोधन गाउँपालिका–३ सुसरीया पुलमा जिल्ला सदरमुकामतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरी फरार रहेको स्थानीयले बताएका छन ।

गोली बायाँ हातको पाखुरामा लागेका छ । घाइते यादवको उपचार जिल्ला अस्पताल तौलिहवामा भइरहेको छ ।
यादवमाथि कसले र किन गोली प्रहार गर्यो ? भन्ने बारे पुष्टी हुन सकेको छैन । घटनाको अनुसन्धान र संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपशम्सेर जबराले बताए ।
हाल समाजबादी पार्टीमा आबद्ध यादव यसअघि नयाँशक्ति पार्टीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए । करिव एक वर्षअघि पनि शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो ।
राजाबाबुले नेकपाका तर्फबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनी प्रदेश सभा निर्वाचनमासमेत उम्मेदवार भएका थिए । यसरी एकपछि आर्को नेतामाथि गोली प्रहार हुन थालेपछि उक्त क्षेत्रका स्थानीय त्रसित भएका छन् ।