देशका विभिन्न जिल्लामा रहेका एनसेल टावरहरूमा बम विष्फोट र आगजनीका घटना भएका इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएको समाचारमा जनाइएको छ ।
उक्त टावरहरूमा आगजनी र विष्फोटन प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको आशङ्का गरेको भएपनि पुष्टी हुन बाँकी नै रहेको छ ।
इन्सेक म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेका अनुसार बेनी नगरपालिका–२ बञ्चरेढुङ्गास्थित एनसेलको टावरमा अज्ञात पक्षले साउन १५ गते विष्फोट गराएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर रामप्रसाद पाण्डेका अनुसार राति करिब पौने ११ बजे ठूलो आवज सहित विष्फोटको आवाज आएको सुनिएको थियो ।
इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का जिल्ला प्रतिनिधि तीर्थराज डुम्रेका अनुसार कावासोती नपा–१० मगरकोटमा रहेको ऐनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ ।
साउन १६ गते बिहान २ बजे टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले बताए ।
आगजनीबाट टावरसँगै रहेको जेनेरेटर जलेर पूर्ण रूपमा नष्ट भएको डिएसपी रानाभाटले बताए । आगलागीलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । आगजानी कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार निसिखोला गाउँपालिका–७ राजकोटमा रहेको एनसेलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
एनसेलको टावरमा आगजनी भएको भन्दै स्थानीयले साउन १६ गते इलाका प्रहरी कार्यालय झिवाखोलामा जानकारी गराएपछि पुगेको प्रहरी टोलीले टावरको एउटा सिस्टम बक्स जलेर पूर्ण रूपमा नष्ट भएको र टावरको एन्टेनासम्म क्षति पुगेको जनाएको छ ।
इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार पालुङटार नगरपालिका–८ धुवोकाटस्थित दुवारमा रहेको एनसेल टावरमा साउन १५ गते राति आगजनी भएको छ ।
आगजनीका कारण एनसेल टावरको जेनेरेटरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले बताए । राति साढे ११ बजेतिर आगजनी भएको प्रहरीले जनाएको छ ।
इन्सेक बझाङ जिल्ला प्रतिनिधि रमेश केसीका अनुसार साउन १५ गते राति मष्टा गाउँपालिका, थलारा गाउँपालिका र वित्थडचिर गाउँपालिकामा रहेको एनसेल टावरमा अज्ञात पक्षले आगजनी गरेको छ ।
यसअघि पटकपटक एनसेलले कर नतिरेको भन्दै प्रतिबन्धित नेकपाले टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने स्थानीय र प्रहरीको आशङ्का छ ।
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार अपरिचित व्यक्तिहरूको समूहले घिरिङ गाउँपालिका–२ घुर्लीछापमा रहेको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगजनी गरेको छ ।
साउन १५ गते राति ११ बजे ५/६ जनाको समूहमा आएका उनीहरूले टावरको व्याट्री तथा कन्ट्रोल रूममा आगजनी गरी क्षति पु¥याएको घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले पनि एनसेल टावरमा आगजनी भएको बताउँदै घटनाको जिम्मेवारी कसैले पनि नलिएको जानकारी दिए ।
इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बागचौर नगरपालिका–५ शिवरथ जारुमारेमा रहेको एनसेल टावरमा साउन १५ गते राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आगजनीबाट टावरमा रहेको दुई ओटा सोलारका प्यानलमध्ये एउटा पुर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार पञ्चदेवल विनायक नगरपालिका–३ थानिकोट र तुर्माखाँद गाउँपालिका–७ तितौडामा रहेका एनसेलका दुई ओटा टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
आगजनीका कारण दुवै ठाउँमा राखिएका ४८/४८ ओटा ब्याट्री, सोलार प्यानल, मोनिटर डिब्बा, तार र अन्य इन्जिनसमेत जलेर ध्वस्त भएको जनाइएको छ ।
एनसेल टावरमा आगलागीमा कुनै पक्षले जिम्मेवारी नलिएपनि जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले आगो लाएको हुनसक्ने बताए ।
जेठ महिनायता सदरमुकाम मङ्गलसेन नगरपालिका परिसरमा रहेको गाडी जलाउने, पञ्चदेवल विनायक नगरपालिका र ढकारी गाउँपालिकाको एक/एक वडा कार्यालय जलाउने, अन्य वडा कार्यालयमा तालाबन्दी, बम विष्फोटका घटना भएका छन् ।
इन्सेक भोजपुर जिल्ला प्रतिनिधि गणेश विष्टका अनुसार रामप्रसाद राई गाउँपालिकामा रहेको एनसेलको टावरमा अज्ञात पक्षबाट आगजनीसँगै तोडफोड भएको छ ।
साउन १५ गते रातको समयमा वडा नं १ ओखेको डाँडाखर्कमा रहेको टावरमा अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर पान्डपकुमार राजवंशीले बताए ।
सोही वडाका अध्यक्ष सहदेव राईका अनुसार १५ ओटा सोलार पाता मध्ये ५ ओटामा पेट्रोल छर्केर पूर्ण रूपमा जलाइएको छ । यहाँ प्रयोग भएका व्याट्री तथा मेशिनमा समेत आगजनी भएको छ ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार बुद्धभुमि नपा–८ हरिहरपुरमा रहेको एनसलको टावरमा साउन १५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ ।
उक्त पक्ष टावरको तारमा आगजनी गरी फरार रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्स्पेक्टर सुवास खडकाले जानकारी दिएका छन् ।
इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार सिद्धलेक गाउँपालिका–६ कुम्पुरडाँडा, धुनीबेसी नगरपालिका–४ जीवनपुर र थाक्रे गाउँपालिका–३ जुरेथुममा रहेका एनसेलको टावरमा साउन १६ गते बिहानको राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपक खड्काले जानाकारी दिए ।
आगजनीबाट टावरमा रहेको जेनेरेटर, व्याट्री, तार, सोलार प्यानल, अप्टिकल केवलमा क्षति पुगेको पनि खड्काले जानकारी दिए । आगजनीबाट उक्त टावर रहेको आसपासमा एनसेलको सेवा अवरूद्ध भएको छ ।
इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका–२८ माझठानामा रहेको एनसेल टावरमा अज्ञात पक्षले साउन १५ गते राति आगजनी गरेको छ । आगजनीका कारण टावरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले साउन १५ गते राति आलिताल गाउँपालिका–२ काफलीडाँडामा रहेको एनसेलको टावरमा आगजनी गरेको छ ।
टावरमा आगजनी हुँदा डडेल्धुरामा सेवा प्रवाह अवरूद्ध भएको छ । साउन १५ गते राति साढे ११ बजेतिर टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्स्पेक्टर लक्ष्मण खड्काले जानकारी दिए ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार रामपुर नगरपालिका–१, गाडाकोट चिहानडाँडामा रहेको एनसेलको टावरमा अज्ञात पक्षले साउन १५ गते राति आगजनी गरेको छ ।
उक्त समूहले बिटिएससम्म पुग्ने कनेक्सन तारमा आगो लगाउँदा टावरको सेवा अबरूद्ध भएको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर भुपालसिंह खाम्चाले बताए ।
इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार साउन १५ गते प्रतिबन्धित नेकपाका कार्याकर्ताहरूले कोन्ज्योसोम गाउँपालिका–२, शंखु, भूमिथुम्कामा रहेको एनसेल टावरमा आगजनी गरेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी रामकृष्ण सापकोटाले जानकारी दिए ।
उनका अनुसार साउन १५ गते राति साढे ११ बजे ठूलो आवाज आएपछि स्थानीयबासी कराएको थिए । स्थानीय कराएपछि पड्काउनका लागि तयारी अवस्थामा रहेको प्रेसर कुकुर बम छोडेर सो पार्टीका कार्यकर्ता भागेको स्थानीयले बताए ।
टावरमा आगलागीबाट आंशिक क्षति भएको महानगरीय प्रहरी परिसर जाउलाखेलका डिएसपी नारायण चिमोरियाले जानकारी दिए ।
एनसेल टावर नजिकै प्रेसर कुकर बम भेटिएको र त्यसलाई साउन १६ गते बिहान नेपाली सेनाको टोलीले डिस्पोज गरेको कोन्ज्योसोम गाउँपालिका–२, शंखुका वडा अध्यक्ष ध्रुवप्रसाद घिमिरेले जानकारी दिए ।