लिखु तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ४८ वर्षीय भुपेन्द्र राई र वडा नं ७ का वडाअध्यक्ष ३६ वर्षीय सुवाश बोहोरालाई साउन १६ गते गाउँ कार्यपालिका बैठकमा गाउँपालिका अध्यक्ष ५२ वर्षीय गोविन्दबहादुर खड्काले आक्रमणको प्रयास गरेको पीडित पक्षको आरोप छ ।
गाउँ कार्यपालिका बैठकमा वडाअध्यक्ष बोहोराले सो गाउँपालिकामा विद्युतिकरणको शीर्षकमा ठूलो रकम खर्च भएकोले त्यसको अनुगमनपछि मात्र भुक्तानी दिनु पर्ने प्रस्ताव राखेका थिए ।
उनको सो प्रस्तावमा प्रमुख प्रशासकीय अधिकृत राई पनि सहमत भएका थिए । सोही विषयको छलफलको क्रममा गाउँपालिका अध्यक्षले तत्काल रकम भुक्तानी गर्नु पर्ने प्रस्ताव ल्याएपछि वडाअध्यक्ष बोहोराले त्यसको प्रतिवाद गरेका थिए ।
अध्यक्षको कुरा प्रतिवाद गरेको भन्दै उनले कुर्सी उठाएर आफू र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गर्न खोजेको वडाअध्यक्ष बोहोराले बताए ।
गाउँपालिका उपाध्यक्ष र अन्य कार्यपालिका सदस्यहरूले रोकेको कारण आफूहरूलाई चोटपटक भने नलागेको बोहोराले बताए ।
गाउँपालिका अध्यक्ष गोविन्द खड्काले भने छलफलको क्रममा केही विवाद भएको भए पनि अरु केही नभएको बताए ।
गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालले विवादपछि गाउँपालिका बैठक त्यतिकै स्थगित भएको बताइन् ।