सुरुङ्गा नपा–४ मधुपट्टी कनकपुरकी १८ वर्षीया पुनम यादवको हत्या गरेको आरोपमा २० वर्षीय पति सतिश यादव, ससुरा ४५ वर्षीय रामसिमृत यादव, सासु ४२ वर्षीया रामसखी यादव र जेठानी २० वर्षीया किरण यादवविरूद्ध प्रहरीले साउन १३ गते उजुरी दर्ता गरेको छ ।
मृतकका दाजु सिरहाको सखुवा नन्कारकट्टी गापा–२ सोठिआइनका २३ वर्षीय पवन यादवले साउन २ गते दिएको कर्तव्य ज्यानको उजुरी साउन १३ गते दर्ता गरी आरोपित पवनलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए ।
आरोपितहरूले असार ३० गते राति दाइजो माग्दै कुटपिट गरेको भन्दै पीडित पुनमले रुँदै फोन गरे पछि असार ३१ गते दिउँसो उनको घरमा पुग्दा आरोपितहरूले थप कुटपिट गर्दै कोठामा थुनेको पवनले बताए ।
पवनका अनुसार आफूसँग बहिनीलाई माइत आउन नदिए पछि घर फर्कने क्रममा सिरहाको लहान पुग्दा बहिनीले विष खाएर आत्महत्या गरेको खबर फोनबाट उनकी २० वर्षीया जेठानी किरण यादवले जानकारी गराएकी हुन् ।
विष सेवनको खबर पाएर पुनः घर पुग्दा बेहोस अवस्थामा रहेकी पीडितलाई आरोपितहरूले उपचार गर्न नलगेपछि स.४ प ८०३३ नम्बरको मोटरसाइकलको बीचमा राखी साथी सञ्जय साहसहित औषधि उपचार गर्न सप्तऋषि अस्पताल लहान ल्याएको पवनले बताए ।
लहानबाट रेफर भई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा असार ३१ गते राति पुनमको मृत्यु भएको उनले बताए ।
शवको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन १ गते पोष्टमार्टम भयो । सामाजिक परम्पराअनुसार ०७४ फागुन २१ गते विवहिता मृतककी आठ महिनाको छोरा छ ।
गिरफ्तार भएका सतिशले आरोप झुठा भएको दावी गर्दै पीडितले विष सेवन गरी आत्महत्या गरेको बताए ।