नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले साउन १५ गते आह्वान गरेको नेपाल बन्दको अघिल्लो दिन साउन १४ गते नेकपा कार्याकर्ताहरूले ककनी गाउँपालिका-१ को कार्यालयमा पेट्रोल बम विष्फोट गराएको इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जनाएका छन् ।
उनका अनुसार कागतिगाउँमा रहेको वडा कार्यालयमा चार/पाँच जनाको समूहमा आएका सो पार्टीका कार्यकर्ताले पेट्रोल बम विष्फोट गराउँदा वडा कार्यालयमा क्षति पुग्न गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले जानकारी दिए ।
बम विष्फोटबाट आगलागी हुँदा वडा कार्यालयको दुई ओटा कोठा पूर्ण रूपमा क्षति भएको र दुई ओटा कोठामा रहेको सम्पूर्ण कागजात, दुई थान कम्प्युटर, चार थान पङ्खा र कार्यालयको सम्पूर्ण फर्निचर जलेर नष्ट भएको र आगजनीबाट करिब ९ लाख बराबरको क्षति भएको वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताए ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको इच्छाकामना गाउँपालिका-२ को वडा कार्यालयमा साउन १४ गते राति तोडफोड गरेका छन् ।
उच्च पहाडी भेगमा रहेको वडा कार्यालयमा तोडफोड गरी कार्यालयको कागजपत्र जथाभावी फालिएको अवस्थामा फेला परेको र कार्यालय आसपास सो पार्टीले पर्चा छाडिएको वडा अध्यक्ष पञ्च चेपाङले बताए ।