INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षमाथि खुर्पा प्रहार गरेको घटनाका आरोपित गिरफ्तार

नीलकण्ठ नगरपालिका–१४ का वडा अध्यक्ष ४५ वर्षीय रोशन भन्ने फन्द्रा तामाङलाई अक्रमण गरी घाइते बनाएको आरोपमा प्रहरीले गोरखा जिल्लाको फालाजुङ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बस्ने २१ वर्षीय पदम गौतम र भारत मोतिहारी जिल्ला घर भई सोही ठाउँ बस्ने २० वर्षीय चुमन साहनीलाई साउन ६ गते टोखाबाट गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटिका सदस्य रहेका तामाङ टोखा नगरपालिका स्थित बानियाँटारमा रहेको डेरामा भित्र छिर्ने क्रममा सो आरोपितहरूले साउन ३ गते तामाङमाथि खुर्पा प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

अपरिचित व्यक्तिहरूबाट पीडित तामाङमाथि खुर्पा प्रहार गरी घाइते बनाएको भन्दै पीडितका भिनाजु अक्कल तामाङले साउन ५ गते महानगरीय प्रहरी प्रभाग महाराजगञ्जमा घटनाबारे उजुरी दिएका थिए ।

आफ्ना कार्यकर्तामाथि भएका आक्रमण नियोजित भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष भूमि त्रिपाठीले साउन ४ गते हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न आरोपितलहरूलाई कारबाही गर्न माग गरिएको थियो ।

खुर्पा प्रहारबाट घाइते भएका तामाङको पेट र हातमा चोट लागेकोले तत्कालै ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा स्वास्थ्यमा सुधार आएपछि उनलाई ६ गते अस्पतालबाट घर ल्याइएको पीडितका परिवारले बताए ।

अन्य

भिडियो