खोटाङमा लोकसेवा आयोगको परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले चार जना आन्दोलनकारीलाई साउन ४ गते गिरफ्तार गरेको छ ।
साउन ४ गते दिक्तेलमा आयोगको पाचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्याएको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घका सचिव रबिन खम्बु, महासङ्घका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई गिरफ्तार गरेको हो ।
दिक्तेल बहुमूखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा बिथोल्ने प्रयास गरेकाले चार जनालाई गिरफ्तार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्ययले बताए । परीक्षा केन्द्रमा प्रवेश गरेर बिथोल्न खोजेकाले गिरफ्तार गरिएको प्रजिअ उपाध्ययको भनाई हो ।
संविधानमा व्यवस्था भए अनुसार समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै साउन ४ गते शनिबार प्रदेश १ बन्दको आह्वान समेत गरेको आन्दोलनकारीले बताएका छन् ।
परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाती महासङ्घका अध्यक्ष हात्तीराम राईले सुनाए ।
संविधानमा व्यवस्था गरिएको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको विरोधमा आदिवासी जनजाती महासङ्घ एवम् आदिवासी जनजाती सङ्घसङ्गठन आबद्ध संयुक्त सङ्घर्ष आन्दोलन परिचालन समितिले प्रदेश बन्द गरेको जनाएको छ । बन्दका कारण वजार तथा यातायात सेवा प्रभावित भएको छ ।
यसैबिच लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले आन्दोलनकारीलाई अमानवीय ढङ्गले कुटपिट गरेको घटनाप्रति राजनीतिक दल तथा विभिन्न सङ्घ–संस्थाले भत्र्सना गरेका छन् ।
लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले आन्दोलनकारीलाई अमानवीय ढङ्गले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल खोटाङले विरोध जनाएको छ ।
उक्त पार्टीले विज्ञप्ति जारी गर्दै जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै गिरफ्तारीमा परेका चारै जनालाई तत्काल रिहाई गर्न माग गरेको छ ।
आन्दोलनकारीलाई घटनास्थलमा अमानवीय ढङ्गले कुटपिट गरेको भन्दै समाजवादी पार्टी, नेपाल, आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, नेपाल राष्ट्रिय दलित सङ्घ खोटाङ र दलित उद्यमी सहकारी संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् ।
गिरफ्तारीमा परेका युवाहरूलाई लाठीचार्ज समेत गरेको भन्दै अमानवीय हिसाबमा राज्यले दमन गर्न प्रयास गरेकोे विज्ञप्तिमा आरोप लगाइएको छ । प्रहरी हिरासतमा रहेका आन्दोलनकारीले भने हिरासतमै अनशन सुरू गरेका छन् ।