INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थीको एक समूहले क्याम्पसमा तोडफोड तथा आगजनी

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीको एक समूहले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा साउन ३ गते आगजनी तथा तोडफोड गरेको छ ।

 

क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुख बस्दै आएको कुर्सी, टेबुल पूर्णरूपमा नष्ट हुनुका साथै कोठामा रहेका दराज तथा झ्यालका सिसा पनि फुटेको छ ।

 

करिब एक साताअघि क्याम्पसमा विद्यार्थीहरूबीचमा कुटपिट भएको घटनाको सम्बन्धमा क्याम्पस प्रशासनले कुनै वास्ता नगरेको भन्दै क्याम्पसमा आगजनी तथा तोडफोड भएको हुनसक्ने आशङ्का क्याम्पस प्रशासनले गरेको छ ।

 

सो घटनामा संलग्न विद्यार्थीको पहिचान नभएपनि सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोड्ने क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरूले आगजनी र तोडफोड गरेको हुन सक्ने क्याम्पस प्रशासनको अनुमान छ ।

 

घटनाबारे उजुरी आइनसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

अन्य

भिडियो