INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

अस्पताल क्षेत्रबाटै नवजात शिशु अपहरणको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ नपा-५ की ३६ वर्षीया बिमकला पाण्डेलाई असार २८ गते गिरफ्तार गरेको छ ।

तानसेन नपा-९ डाँडाडुमकी २२ वर्षीया जमुना रानाले असार २७ गते लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा शिशु जन्माएकी थिइन् ।

प्रहरीका अनुसार शिशुलाई अपरहण गरी उनले स्याङजाको मिर्मी पुर्‍याइन् । बिमकला कालीगण्डकी ए परियोजनामा सरसरफाई कर्मचारीको रूपमा कार्यरत भएकोले कार्यालयकै क्वाटरमै बस्थिन् ।

असार २७ गते साँझ बच्चालाई लिएर क्वाटरमै पुगिन् । अस्पतालबाट बच्चा हराएको खवर सार्वजनिक भएपछि स्थानीयले उनको क्वाटरमा बच्चा रोइरहेको र उनी गर्भवती अवस्थामा पनि नरहेकोले उनैले बच्चा अपहरण गरी ल्याएको हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ।

अरोपित बिमकलाका पतिको मृत्यु भएपछि दोस्रो विवाह गरेकी थिइन् । पहिलो पतिबाट एक छोरा र एक छोरी मामा घरमा बसेर पढ्दै आएका छन् । हाल उनका पति वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् ।

प्रहरीका अनुसार परिवार नियोजन गरिसकेकी बिमकलाले पति कतार गएपछि उनले आफू गर्भवति भएको बताउँदै आएकी थिइन् ।

उनी असार २३ गतेदेखि नै मेडिकलमा बसीरहेकी थिइन् । गर्भवति भएको भनेर पतिलाई ढाँटेकै कारण पतिलाई देखाउनकै लागि नवजात शिशु चोरेर लगिन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी कृष्णराज सापकोटाका अनुसार उनका पतिले बच्चा चाहिने भनेपछि उनी बच्चाको खोजीमा रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको वहानाले आएर बसेकी थिइन् ।

प्रहरीले नवजात शिशु जमुनालाई बुझाएको छ । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो