सप्तरी जिल्लाको अधिकांश भू-भाग बाढीबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ कार्यालय र इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामको संयुक्त टोलीले असार २९ गते प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।
आयोगका निमित्त प्रदेश निर्देशक बीरबहादुर बुढा मगर, इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवान, आयोगकी मानव अधिकार अधिकृत मनमाया राना मगर, एडभोकेसी फोरमका प्रदेश २ संयोजक राजकुमार महासेठ, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले बाढीबाट अति प्रभावित हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका पुगी बाढीले पुर्याएको क्षतिको अवस्था र उत्पन्न समस्याबारे जानकारी लिएका हुन् ।
टोलीले बाढीको डुबानबाट विस्थापित भई हनुमाननगर कङ्कालिनीस्थित कोशी उच्च बाँधमा त्रिपाल टाँगेर बसेका परिवारसँग भेटघाट गर्नुका साथै बाढी नियन्त्रणका लागि सरकार र स्थानीय तहबाट भइरहेको प्रयासबारे जानकारी लिएको छ ।
हनुमाननगरदेखि डलवासम्म १ सय १० घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल वोर्डर आउट पोस्ट बर्साइनका इन्स्पेक्टर बिनुप श्रेष्ठले अनुगमन टोलीलाई बताए ।
ती डुबानमा परेका पीडित उच्च बाँधमा आएर बसेका छन् । आफूहरू बसेको बेस क्याम्पमा समेत पानी पसेर डुवानमा परेको इन्स्पेक्टर श्रेष्ठले बताए ।
पानीले घेरिएको तिलाठी कोइलाडी गाउँपालिका-५ टिकुलियामा बाढीले तीव्र बेगका कारण डोरीको सहारामा स्थानीयले आवतजात गरिरहेको छ ।
टोलीले सिमावर्ती क्षेत्रका साथै कोशी व्यारेजको समेत अवलोकन निरीक्षण गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव उच्च भई ओभरफ्लो हुन थालेपछि राति सवा १२ बजेदेखि तीन घण्टासम्म कोशी ब्यारेजका ५६ ओटै ढोका खोलिएपछि पानीको बहाव कम भएको स्थानीय आकाशराज भण्डारीले बताए ।
पानीको बहाव कम भएपछि २७ खनेटा ढोका मात्र अहिले खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
आयोगका निमित्त प्रदेश निर्देशक बुढाले सप्तरीसहित तराईका जिल्लामा प्रत्येक वर्षआउने गरेको बाढीले भइरहेको जनधनको क्षति कम गर्न दिर्घकालिन रूपमा ठोस काम गर्नुपर्ने आवश्यक्ता औँल्याए ।










