शिक्षकको कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत १३ वर्षीय छात्र माधव कलौनीको उपचारका क्रममा असार २४ गते राति मृत्यु भएको छ ।
कक्षा नौमा अध्ययनरत कलौनीलाई असार १३ गते विद्यालयमै कुटपिट गरेको उनका बाबु बृहस्पती कलौनीले बताए ।
मृतक कलौनीका बाबुले प्रधानध्यापक यशोदा जोशी, शिक्षकत्रय लक्ष्मणदत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाइते बनाएको आरोप लगाए । कुटपिटबाट कलौनीको टाउको र छातिमा चोट लागेको थियो भने दायाँ गोडा भाँचिएको थियो ।
कुटपिटबाट घाइते छोराको उपचार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगञ्जको शिक्षण अस्पताल हुँदै भारतको बरेलीसम्म लगिएको भए पनि बचाउन नसकिएको कलौनीले बताए ।
मृतक माधवको शव पोष्टमार्टमका लागि भारतको बरेलीबाट महाकाली अञ्चल अस्पताल महेन्द्रनगर ल्याउदै गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न भएको भन्ने किटानी उजुरी आएपछि विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई असार २५ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश आचार्यले बताए ।