INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्लाही घटनालाई लिएर कांग्रेस र राजपाद्वारा संसद अवरूद्ध

सर्लाही जिल्लामा भएका विभिन्न घटनालाई लिएर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले असार २४ गते संसद अवरूद्ध गरेका छन् ।

संसदमा कुमार पौडेल, अमित राय र सरोजनारायण यादवको मृत्युको छानबिन गर्न संसदले संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरूद्ध गरेको कांग्रेसले जनाएको छ ।

असार ५ गते सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्युलाई प्रहरीसँगको दोहोरो भिडन्तमा भएको भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल) ले दिएको जबाफप्रति असन्तुष्टी जनाउँदै कांग्रेस तथा राष्ट्रिय जनता पार्टीले संसद अवरूद्ध गरेका हुन् ।

सर्लाही र महोत्तरीको सीमानामा रहेको बाँके नदीमा बालुवा र गिटी निकाल्ने क्रममा भएको खाल्डोमा परी स्थानीय १२ वर्षीय अमित रायको असार १४ गते मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनको क्रममा इश्वरपुर नगरपालिकास्थित बाँके चोकमा प्रहरी र स्थानीयबीच असार १५ गते झडप हुँदा प्रहरीको गोली लागेर इश्वरपुर नगरपालिका–१३ श्रीनगरका २७ वर्षीय सरोजनारायण यादवको मृत्यु भएपछि यादवलाई प्रहरीले टाउकोमा नै ताकेर गोली हानेको भन्दै राजपाका नेताहरूले संसदमा आक्रोश पोखे ।

जनताको सुरक्षा गर्नुपर्ने निकायले बालुवा र गिटी निकाल्ने उद्योगले काम सकेपछि बनाइएका खाल्टोलाई पुर्नुपर्ने दायित्वबाट पछि हट्नेलाई पनि कारवाही गर्न संसद बैठकमा माग गरिएको छ ।

असार २४ गते बसेको संसदको बैठकले नै घटनाको छानबिन गर्न संसदले संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसका प्रमुख सचेतक पुष्पा भुषालले माग गरिन् ।

‘गृहमन्त्री थापाले दिएको जबाफ गैरजिम्मेवार पुर्ण भएको र यसबारे हामीहरूलाई चित्त नबुझेर संसद अबरूद्ध गरेका हौँ ।’–उनले भनिन् ।

संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै संसद बैठक सुरूमै १५ मिनेटका लागि स्थगित भएको थियो । तर, दलहरूबीच सहमति नजुटेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

अन्य

भिडियो