INSEC Online

📅 २०८३ जेष्ठ २१

अवैध बालगृहबाट उद्दार गरिएका १२ जना बालबालिकाको पुनर्मिलन

काठमाडौँको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृह नामक संस्थाबाट उद्दार गरिएका १२ जना बालबालिकालाई असार १९ गते इन्सेक प्रतिनिधिको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ ।

बालगृहबाट उद्दार गरिएका हुम्लाका १३ जना बालबालिका मध्ये एक जना बालकलाई सुर्खेत जिल्लामै अस्थायी बसोबास गर्दै आएका आफन्तसँग पुनर्मिलन गराइएको थियो ।

बाँकी १२ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडा अध्यक्ष, सुरक्षा निकाय र इन्सेक प्रतिनिधि नन्द सिंहको रोहवरमा अभिभावकलाई जिम्मा लगाइएको हो ।

कक्षा १२ सम्म निशुल्क रूपमा पढाइदिन्छु भन्दै हुम्लाका विभिन्न गाउँबाट काठमाडौँमा रहेको सुकेधारास्थित ऐश्वर्य बाल कल्याण गृहमा पुर्‍याइएका बालबालिका अलपत्र अवस्थामा फेला पारेपछि उद्दार गरिएको साझा सवालका लागि साझा मञ्च (कोकन) काठमाडौँ संस्थाका कार्यक्रम संयोजक बासु फुयाँलले बताए ।

अवैध रूपमा विभिन्न जिल्लाबाट सो बालगृहमा पुर्‍याइएका १ सय २५ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेकोमा हाल १३ जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको संयोजक फुयाँलले बताए ।

पढाउने भन्दै सिमकोट गाउँपालिका–१, ठेहेवाट एक जना, वडा नं २ को ठेहेका ६ जना, वडा नं ५ को एक जना, खार्पुनाथ गाउँपालिका–१ गोप्काका दुई जना र वडा नं ३ रायाका तीन जना लाई अवैध रूपमा चलेको ऐश्वर्य बालगृहमा राखिएको थियो ।

बालबालिकालाई आफन्तको जिम्मा लगाउँदै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले ओसारपोसारमा संलग्न व्यक्ति र अभिभावकको पनि लापरवाहीका कारण समस्या उत्पन्न भएको बताए ।

उनले पछिल्लो समयमा बालबालिका जिल्ला बाहिर पठाउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस र जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिस अनिवार्य रहने बताए ।

गाउँमा अभिभावकबाट ३० हजार देखि १ लाख ५० हजार रुपियाँसम्म रकम लिएर कक्षा १२ सम्म निशुल्क पढाइदिन्छु भन्दै बालबालिका काठमाडौँमा लगेको सिमकोट–५ की अभिभावक किरण रावतले बताइन् ।

ऐश्वर्य बालगृहका सञ्चालक र बालबालिका ओसारपोसार गर्ने केही आरोपित व्यक्तिहरू प्रहरी नियन्त्रणमा रहेको भए पनि संलग्न अन्य आरोपितहरू अझै फरार सूचीमा रहेका छन् ।

अन्य

भिडियो