सुरुङ्गा नपा–१ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई असार १९ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई गिरफ्तार गरेको छ ।
शवको नजिकै आँगनमा दुवै हातमा खुकुरी लिएर उफ्रिरहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कडरबोनामा नियन्त्रणमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडी तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा काटिएको रक्ताम्य अवस्थामा धनमायाको शव फेला परेको र खुकुरी बोकेर धम्क्याई रहेको अवस्थामा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले बताए ।
मोबाइलमा रिचार्ज र घरमा खैनी सकिएको धनमायाले भनेपछि उनका पति ६५ वर्षीय लोकबहादुर पुलामी बजार निक्लिएका बेला छोराले नै आमाको हत्या गरेको लोकबहादुरले बताए ।
शवलाई पोष्टमार्टमका लागि असार १९ गते राति रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पुर्याइएको छ ।
जङ्गबहादुर मनोरोगी भएको आशङ्का गर्दै घर छाडेकी उनकी पत्नी एक छोरा र एक छोरीका साथ उदयपुरको रौतास्थित माइतमा छिन् ।