कालीगण्डकी गाउँपालिकाले असार १८ गते गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका औषधिका साथै खाद्य पदार्थ फेला पारिएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ स्थित मिर्मी बजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका औषधि र खाद्यवस्तु भेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश खनालले बताए ।
अनुगमनका क्रममा मिर्मिबिजार स्थित सुरज मेडिकल हलबाट एन्टिबायोटिक औषधिहरू र बच्चालाई पोषण प्रदान गर्न खुवाइने घुटी भन्ने औषधिको म्याद नाघेको पाँच महिना भएको भेटिएकोले औषधि जफत् गरेको खनालले बताए ।
बजारका आठओटा पसलमा अनुगमनका क्रममा म्याद नाघेका वस्तु भेटिएको र त्यस्ता वस्तुलाई नष्ट गर्नुका साथै व्यापारीहरूलाई सचेत गराइएको गाउँपालिकाले जनाएको छ ।
अखाद्य वस्तुको प्रयोगले स्थानीयको स्वास्थ्यमा असर पर्ने भन्दै प्रशासकीय अधिकृतको नेतृत्वमा बजार अनुगमन गरेको गाउँपालिकाले एक पटकलाई व्यापारीलाई सचेत गराएको बताउँदै आगामी दिनमा पनि म्याद नाघेका वस्तु भेटिएमा कडा कारवाही गर्ने जनाएको छ ।
नेपाल औषधि ऐन, २०३५ ले ऐनको परिच्छेद ७ विविध अन्तर्गत म्याद गुज्रिएका औषधिको विक्री वितरण गर्न नहुने भनी उल्लेख गरेको छ ।
सो ऐन विपरीत कार्य गर्ने व्यक्तिलाई ऐनले तीन वर्षम्म कैद वा २५ हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी उल्लेख गरिएको छ ।
म्याद गुज्रिएको औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग भएमा ऐनले १० वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था समेत गरेको छ ।