१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पालुङटार नगरपालिका–४ स्थित अमर ज्योति जनता मावि, लुइटेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४३ वर्षीय प्रकाश न्यौपानेलाई असार १२ गते गिरफ्तार गरेको छ ।
कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १३ गते प्रहरीमाउजुरी दिएको छ ।
पीडित बालिका छात्राबासमा सुतिरहेको बेला आरोपितले असार ९ गते दुर्व्यवहार गरेकोे पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।
छात्रामाथि गरेको दुर्व्यवहारको विरोधमा आरोपित न्यौपानेलाई कारवाही माग गर्दै असार १२ गतेको परीक्षा समेत विद्यार्थीले बहिष्कार गरेका छन् ।
विद्यार्थी आन्दोलनमा उत्रिएपछि तीन विषयको परिक्षा बर्खे विदा पछि गर्ने गरी असार १२ बाट बर्खे विदा दिइएको विद्यालयका प्रध्यानाध्यापक माधव देवकोटाले बताए ।
न्यौपानेलाई सार्वजनिक हित विरूद्घको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि वढाइएको एसपी भोला रावलले बताए ।
आरोपीत न्यौपानेले भने उक्त घटनामा संलग्न नभएको र आफूलाई सुनियोजित रूपमा फसाउन खोजेको आरोप लगाएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १३ गते गोरखा अस्पतालमा भएको छ ।