विभिन्न पेसागत मागहरू राखेर भक्तपुर अस्पतालमा कर्मचारीहरूले आकस्मिक बाहेकका सेवा अनिश्चितकालिन बन्द गराएका छन् ।
कर्मचारीले आफ्नो माग सम्बोधन नगरेको भन्दै आसार ३ गतेदेखि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेका छन् ।
अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टि बाँधेर ३५ जना कर्मचारीहरू अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् ।
अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. सुधा देवकोटाले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरूको सबै सेवा, सुविधा कटौती गरेपछि ३५ जना कर्मचारी एकसातादेखि आन्दोलनमा उत्रिएको बताइन् ।
सरकारले अस्पताल विकास समिति खारेज गरेर मेडिकल सुपरिटेण्डेण्ट (मेसु)लाई अधिकार दिएपछि मेसु डा. देवकोटाले ०७५ साउन ६ गते अधिकारको दुरूपयोग गरी नियम विपरीत यस अघिका विकास समितिले गरेको सम्पूर्ण निर्णय समेत खारेज गरेको र समितिले नियुक्ति गरेको कर्मचारीको नियुक्ती समेत खारेज गरेको सूचना टाँस गरेको आन्दोलनरत कर्मचारीहरूको सङ्गठनका अध्यक्ष मदन द्यौलाले बताए ।
अस्पतालमा २२ वर्षेखि कार्यरत कर्मचारीहरूलाई निष्कासन गर्ने नियतले सेवा, सुविधा कटौती गर्दै गएको र ठेक्काबाट करारमा रहेका १३ जना कर्मचारीलाई आउँदो साउनदेखि नियुक्ति नविकरण नगर्ने भएकाले उनीहरूको पुर्नबाहालीको समेत माग गरेको द्यौलाले बताए ।
मेसुले अस्पतालका कर्मचारीहरू दास भएको भन्दै कर्मचारीलाई मानवीय व्यबहार समेत नगरेको आन्दोलनरत कर्मचारीको आरोप छ ।
अस्पतलको दैनिक सेवा बन्द हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामीहरू प्रभावित भएका छन् ।