INSEC Online

📅 २०८३ जेष्ठ २१

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा विद्यार्थीले असार ३ गते तोडफोड गरेका छन् ।

क्याम्पसमा इन्जिनियरिङ अध्ययन सकेका र अध्ययनरत विद्यार्थीले क्याम्पस प्रशासनको लापर्वाहीका कारण इन्जिनियरिङ काउन्सिलबाट मान्यता नपाएको भन्दै तोडफोड गरेका हुन् ।

Photo20190619Morang (1)

क्याम्पस प्रशासनले असार ३१ गतेसम्म लामो बिदा गरिएको सूचना टाँस गरेलगतै विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा र भण्डारमा तोडफोड गरेका थिए ।

तोडफोडपछि क्याम्पस प्रमुख मनोज हलुवाईको कार्यकक्षमा रहेको सोफा, दराजलगायतका सामानलाई बाहिर निकालेर आगजनी समेत गरेका छन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी नविन निरौलाले बारम्बार आफ्ना मागको सुनुवाइ गर्नका लागि प्रशासनमा आग्रह गर्दा मौन बसेको र परीक्षा फारम खुलेपछि लामो समय क्याप्पस बन्द गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

Photo20190619Morang (2)

अखिल नेपाल विद्यार्थी यूनियनका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले क्याम्पस प्रशासनले समयमै ध्यान नदिँदा विद्यार्थीले धैर्य टुटाउँदै तोडफोडमा जानुपर्ने बाध्यता आइपरेकाले सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताए ।

पुसेट क्याम्पसका प्रमुख मनोज हलुवाईले अध्ययन पूरा गरेका सिभिल र मेकानिकल इञ्जिनियरिङका विद्यार्थीले इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने माग गर्दै आएकोमा क्याम्पसले काउन्सिलमार्फत पहल गरिरहेको भएपनि मन्त्रिपरिषद्को निर्णय पर्खनुपर्ने बाध्यताका कारण समस्या भएको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस पुसेटमा सिभिल इन्जिनियरिङतर्फ ४८ जनाको मात्रै कोटा रहेको थियो ।

विश्वविद्यालयले कोटा बढाएर ९६ पुर्‍याएपछि इञ्जिनियरिङ काउन्सिलले क्याम्पसको मापदण्ड नपुगेको बताउँदै मान्यता दिन अस्वीकार गरेको छ ।

अन्य

भिडियो