छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी २७ वर्षीया बिनिता यादवलाई समाजवादी पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्षसमेत रहेका ३५ वर्षीय पति केदारप्रसाद यादवले जेठ ३१ गते कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
द्वारका श्रीलाल सातनी यादव मावि बथनाहाकी शिक्षिका बिनितालाई विद्यालयमा पढाएर स्कुटीमा फर्किरहेका बेला राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत देउरी भरुवास्थित खाँडो खोलाको पुलदेखि ३ सय मिटर पश्चिमतर्फ रोकेर अश्लिल गालीगलौज गर्नुका साथै आरोपितले लात, मुक्का र हेल्मेटले कुटेर स्कुटी खोसी फरार भएको पीडितले आरोप लगाइन् ।
कुटपिटबाट घाइते बिनिता राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएको माइती पक्षले जनाएको छ ।
पार्टी कामले हनुमाननगर कङ्कालिनी नपास्थित रम्पुरा मल्हनियाँबाट मोटरसाइकलमा फर्किरहेका अध्यक्ष यादवले पत्नी सवार स्कुटीको साँचो माग्दा नदिएपछि खोसेको तर कुटपिट नगरेको बताए ।
आफू चढेको मोटरसाइकल साथीलाई दिएर बिनिता चढेको स्कुटी लिएर आफू राजविराज फर्किएको भने अध्यक्ष यादवले स्वीकार गरेका छन् ।
सामाजिक परम्पराअनुसार नौ वर्षअघि विवाहित उनीहरूको आठ वर्षीय एक छोरा छन् । बिनितालाई पटकपटक कुटपिट, गालीगलौज गर्दै आएपछि आठ वर्षदेखि बिनिता राजविराज नपा–५ सरस्वती टोलस्थित माइतीघरमा बस्दै आएकी छिन् ।
गत वर्ष स्थानीय तहको निर्वाचनमा छिन्नमस्ता गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुँदा सँगै राखेका आरोपितले निर्वाचन सकिए लगत्तै झगडा गर्न थालेपछि पीडित पुनः माइतीघरमा बस्दै आएकी छिन् ।
घाइते बिनिताले कुटपिट गर्ने आरोपित पतिलाई गिरफ्तार गरी हदैसम्मको सजाय गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जेठ ३१ गते उजुरी समेत दिएकी छिन् ।
पतिको गालीगलौज, कुटपिट सहँदै आएको बताएकी बिनिताले भनिन्–‘घरभित्र कुटेको कुरा त लुकाएकै थिएँ । तर, बाटोघाटोमै पिट्न थालेपछि सधैँ कति पिटाइ खाएर बस्नु भन्दै प्रहरी समक्ष उजुरी दिएकी हुँ ।’