खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा जेठ १७ गते देखि क्षयरोगको औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
गाउँपालिका अन्तर्गतका ६ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रमा क्षयरागको औषधि अभाव भएको हो ।
क्षयरोग जस्तो संवेदनशील रोगको औषधि अभाव भएपछि बिरामीहरूले छिमेकी जिल्ला बाजुरा र जुम्लाबाट औषधि ल्याएर सेवन गर्न बाध्य भएको गुनासो गरेका गरेका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखाले समयमै जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको माग नगर्दा औषधि अभाव भएको हो ।
डट्स विधिमा उपचार गरिने क्षयरोगको औषधि बिरामीको अवस्था हेरेर तीनदेखि चारमहिनासम्म निरन्तर खानुपर्छ ।
एकदिन नबिराएर खानुपर्ने औषधि सकिएपछि आमाको लागि क्षयरोगको औषधि लिन जाँदा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, रातापानीमा औषधि अभावका कारण नपाएको बताए ।
रातापानीका स्वास्थ्यकर्मीले औषधि नभएको जानकारी दिएपछि चार घण्टा हिँडेर छिमेकी जिल्ला बाजुराको कोल्टी पुगेर औषधि ल्याएको खत्याड गाउँपालिका-८ ठामलेक गाउँका नन्दबहादुर थापाले बताए ।
थापाका अनुसार बाजुराको कोल्टीको स्वास्थ्य संस्थाले चार दिनको लागिमात्र औषधि दिएको छ । चार दिनपछि पुनः एक दिन हिँडेर सदरमुकाम गमगढी वा छिमेकी जिल्ला बाजुरा र जुम्ला पुग्नुपर्ने बाध्यता रहेको थापाले बताए ।
उनकी ६५ वर्षीया आमा नैनी थापालाई क्षयरोग भएको पत्ता लागेपछि ०७५ चैत १४ गतेदेखि यो औषधि प्रयोग गर्न सुरू गरिएको थियो ।
नेपाल सरकारको नीति अनुसार क्षयरोगको औषधि हरेक स्वास्थ्य संस्थामा अनिवार्य हुनुपर्ने भएपनि गाउँपालिकाको लापरवाहीका कारण औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका निमित्त प्रमुख डाक्टर किशोर खड्काले बताए ।
औषधि अभाव हुन लागेको जानकारी गाउँपालिका स्वास्थ्य शाखालाई एक हप्ता अगाडि नै दिइएको भएपनि शाखाले समयमै जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग नगर्दा अभाव भएको खड्काले बताए ।