जातीय भेद्भाव तथा छुवाछुत कायमै रहेको सरोकारवालाहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २३ गते आयोजना गरेको जातीय भेदभाव तथा छुवाछुत विरूद्धको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उक्त कुरा बताएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जानेर वा नजानेर समाजमा जातीय विभेद र छुवाछुत भएकाले सबैको प्रयास र भुमिका सकारात्मक हुनुपर्नेमा जोड दिए ।
उनले आयोग जातीय छुवाछुतको अवस्था र घटनाहरूको अध्ययन गर्दै देश दौडाहमा रहेकाले प्रतिवेदन बनाएर सरकारलाई निर्देशन दिने बताए । आयोग प्रदेश ५ कार्यालयकी प्रमुख सम्झना शर्माले जातीय भेदभाव र छुवाछुत अपराध भएकाले सहेर नबस्न आग्रह गरिन् ।
जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेले जातीय भेदभाव र छुवाछुतको कसुरमा जिल्लामा केही व्यक्तिलाई कारवाही भएको औँल्याउँदै विपन्न र असाय दलित बस्तीहरूमा सचेतना आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी दिपकुमार बस्नेतले प्रहरीमा आउने बलात्कार, हत्या, घरेलु तथा महिला हिंसा र आत्म हत्याका घटनामा अधिकांश दलित समुदाय रहेको बताए ।
एसपी बस्नेतले सचेतना र मदिराका कारण यो समस्या आएकाले सामाजिक सशक्तिकरण आवश्यक रहेको औँल्याए ।
दलित अधिकारकर्मी रोम विश्वकर्माले समाजका जातीय छुवाछुत महसुस भएपनि समुदाय नै नखुल्ने गरेको बताए ।
उनले आफू हिन्दु धर्म मान्ने व्यक्ति भएपनि धर्मकै आडमा गरिएको भेदभावका कारण गर्वका साथ हिन्दु भनेर छातिमा हात राख्ने दिन कहिल्यै नआएको बताए ।
‘छिमेककी गैर दलितकोमा विवाह र भोज भतेर हुँदा दलित भएकै कारण निम्तो आउँदैन । यो प्रवृत्तिले दलितहरूलाई मानसिक चोट पुगेको छ ।’–उनले भने । साथै दलित समुदायले गैरदलितको छिमेकमा जग्गा समेत किन्न सक्ने अवस्था नभएको बिकले बताए ।
दलित युवा गणेश विश्वकर्माले सदरमुकाममा दलित भएकै कारण कतिपय विद्यार्थी र कर्मचारीहरूले कोठा नपाएका उदाहरणहरू आफूहरूसँग रहेको बताए ।
‘घरमा कोठाहरू खाली हुन्छन् । कोठा खोज्न जाँदा परिचय खुले भाडामा गइसकेको जबाफ आउँछ ।’–उनले भने–‘पछि परिचय थाहा पाए पनि अनेक बहाना बनाएर निकालिएका उदाहरण छन् ।’
जिल्लामा हिन्दु धर्मको कारण जातीय विभेद बढाएको हल्ला फैलाएर धर्म परिवर्तन गराउने कामसमेत भइरहेको विश्वकर्माले आरोप लगाए ।
पछिल्लो समयमा अन्तरजातीय विवाह गर्ने क्रम चलिरहेको छ । तर, त्यस्ता जोडीहरू घर परिवारमा सहज रूपमा बस्ने वातावरण रहेको छैन ।
इस्मा गाउँपालिका–५ का विष्णु नेपालीले आफू अन्तरजातीय विवाहका कारण ससुराली परिवारबाट तिरस्कृत भएको गुनासो गरे । दुवैलाई अलग गराउन थुप्रै प्रयत्न भएको उनले बताए ।
जनमोर्चाका जिल्ला नेता हरि न्यौपानेले राजनीतिक दलले दलितलाई चुनावको भोट मात्रै बनाएको आरोप लगाए ।
विश्व हिन्दु महासङ्घ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले सार्वजनिक स्थलमा छुवाछुत हटेर गएकाले समाजले बिस्तारै कोल्टे फेर्ने आशा व्यक्त गरे ।
रेसुङ्गा नपाका मेयर डिल्लीराज भुसालले जातीय छुवाछुतका धेरै डर लाग्दो स्थितिबाट समाज अगाडि बढेकाले सचेतनामार्फत विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।
