जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले जातीय भेदभाव अन्त्यको लागि गैरदलितहरूको सोच र दृष्टिकोणमा सकरात्मक परिर्वतन हुन आवश्यक रहेको बताएका छन् ।
सन्धिखर्कमा राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र इन्सेकको समन्वयमा सम्पन्न भएको कार्यक्रममा उनले जातीय छुवाछुतको अन्त्य गर्न गैर दलितहरूको सोच र दृष्टिकोणमा परिर्वतन हुनुपर्ने उनले बताएका हुन् ।
उनले १३ वर्ष अघि जातीय भेदभाव तथा छुवाछुत मुक्त देश घोषण भए पनि जातीय भेदभाव अदृष्य रूपमा रहेको बताए । ‘जातीय भेदभावको रूप परिर्वतन भएको छ । सोही अनुसार हामीले अभियान सञ्चालन गर्नुपर्छ ।’–उनले भने ।
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले स्थानीय तहमा जातीय विभेद विरूद्धको अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्याक्त गरे ।
उनले भने–‘विभिन्न कार्यक्रम हुन्छन अभियान सञ्चालन हुन्छन् । ति सकरात्मक र प्रभावकारी छन् । अब अभियान सञ्चालन गर्नुपर्छ ।’
भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले जातीय भेदभाव र छुवाछुतका समस्या ग्रामीण स्तरमा व्यापक रहेको बताए । ‘यसको अन्त्यका लागि स्थानीय तहको नीति तथा कार्यक्रममा समावेश गर्नुपर्छ । म त्यसका लागि प्रतिबद्ध छु ।’–उनले भने ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार बिकले भने नीति र कानुनले मात्रै समस्याको हल नहुने बताए । उनले सामाजिक सोच दृष्टिकोण, सामाजिक चरित्र, धर्मका कारण जातीय विभेद भएको बताए ।
उनले भने–‘म जनप्रतिनिधि भए पनि अप्रत्यक्ष रूपमा जातीय विभेद भोगिरहको छु । म दलित भएकै कारण मानिस नमस्ते गर्न हिच्किचाउँछन् ।’
बार एसोसियशनका जिल्ला अध्यक्ष केवि भुसालले अदृश्य रूपमा जातीय विभेद व्याप्त रहेको बताए । यसको लागि स्थानीय तहले नीति बनाइ काम गर्नुपर्नेमा उनको जोड छ ।
दलित अधिकारकर्मी राधा नेपालीले जातीय विभेदका घटनाका मुद्दा जिल्ला प्रहरी कार्यलयमा दर्ता हुनै कठिन हुने बताइन् ।
अहिले पनि राज्यका निकायका अधिकारीको मानसिकता दतिलको मुद्दा मिलाउनुपर्छ भन्ने रहेको उनको आरोप छ ।



